खोजि गर्नुहोस..

हामी यात्रु हौँ, अपराधी होइनौं, दिल्ली-बुटवल यात्रामा भोगेको पीडादायक अनुभूती

लेख्नुपर्ने विषय सायद सानो लाग्न सक्छ, तर म लेख्न बाध्य भएँ — किनभने यो केवल मेरो अनुभव होइन, लामो दूरीको सार्वजनिक बस चढ्ने हरेक नेपालीको साझा पीडा हो।
हामी यात्रु — कहिले आशाले भरिएका, कहिले थकाइले चुँडिएका, कहिले त केवल घर फर्कन आतुर।
तर हाम्रो यात्रा,  केवल दूरी नाप्ने प्रक्रिया होइन — कहिलेकाहीँ त आत्मालाई चोट पुर्‍याउने संघर्ष पनि बन्छ।
हामी स्वच्छ र स्वस्थ खाना खान सजग छौं। तर यात्रा सुरू भएपछि, विशेषगरी राजमार्गमा, होटल र ढाबाहरूमा पाइने खाना हाम्रो नियन्त्रणमा हुँदैन।
अनि हामी आँखा चिम्लिन्छौं — “एकै छाक त हो।” तर त्यो एक छाकले हाम्रो स्वास्थ्य, आत्मा र आत्मसम्मानमा कस्तो गहिरो असर पार्न सक्छ — सोच्दैनौं, सोच्न पनि चाहँदैनौं।
सार्वजनिक बस यात्रा गर्दा त झन् हाम्रो ज्यान, स्वास्थ्य र खानापानको निर्णय बसका कर्मचारीका हातमा हुन्छ।
हामीले हाम्रो अनुहार मात्रै होइन, भोक, प्यास, पिसाब–दिसासम्म उनीहरूकै भरोसामा सुम्पिएका हुन्छौं।
०८२ सालको असार महिनाको ३ गते मंगलबार राति, हामी “सुपा देउराली टूर एण्ड ट्राभल्स” को बसमा दिल्लीबाट बुटवलतर्फको यात्रामा थियौं।
बस राम्रो थियो, सीट पनि आरामदायी। टिकट ₹१७०० भारतीय रुपैयाँ। स्टाफको व्यवहार सुरुमा शिष्टतापूर्ण लाग्यो। म बारम्बार नेपाल–भारत ओहोरदोहोर गरिरहने भएकाले यो यात्रा मेरोलागि नयाँ थिएन, तर प्रदीप भाइको लागि दोस्रोपटकको फर्काइ थियो।
मैले बाटोभरि उनलाई ठाउँठाउँको बारेमा जानकारी दिँदै यात्रालाई सहज बनाउने प्रयास गरें। रातिको करिब ९ बजेतिर गजरौला नजिकै “जुबली नेपाली ढाबा” मा बस रोकियो। बिरामी भाइ भएकाले हामी पहिल्यै खाना खाइसकेका थियौं, त्यसैले त्यहाँ केही खाइनँ। यात्रा अघि बढ्यो।
नेपालगञ्ज बोर्डर पुग्दा भारतका सुरक्षाकर्मी र भन्सारका कर्मचारीहरूको व्यवहारले आत्मासम्मै चोट पुर्‍यायो। झोला खोलेर हेर्ने मात्र होइन, गोजा–कुनामा हात हाल्दै, बारम्बार स्क्यानर र कुकुर लगाएर जाँच।
हामी त काम गरेर फर्केका मेहनती नागरिक, तर व्यवहार यति अपमानजनक कि लाग्यो — “हामी अपराधी हौँ?” “हामी गोर्खाली!” भनेर गर्व गर्ने हामी, त्यहीँ एकछिनका लागि लाचार र अपहेलित महसुस हुन पुग्यौं।
नेपालतिर पस्नासाथ केही सहज लाग्यो — आफ्नै देशमा प्रवेश गर्ने आत्मिक शान्ति। तर त्यो शान्ति धेरै बेर टिक्न सकेन।
बिहान १० बजेतिर राप्ती सोनारी १, बाँके भन्ने ठाउँमा “होटल मेचि महाकाली” मा बस रोकियो। भोकाएका, थाकेका यात्रुहरू गाडीबाट ओर्लिए। हामीले ५०० रुपैयाँ तिरेर २ थाल सादा खाना लियौं — पहिले रकम तिर्नुपर्ने चलन छ अहिले। प्रति छाक २५० रुपैयाँ – महँगो त हो, तर यात्रा गरिरहँदा बाध्यता पनि हो।
तर जब थाल आयो, खाना खासै सरर मन हुने खालको थिएन । दाल खनाउदा लाग्दा पुरै ठूलो कमिला वा कुनै किरा पाकेको प्रष्ट देखियो खानामा कहिले काही किरा किरी पर्छन तर देखे पछि खाना खान सकिदैन् । यो बारेमा होटलका साउजीलाइ बोलाएर देखाउदा गुनासो गर्दा उल्टै दुरव्यवहार भयो । गल्ति भएछ । अर्को खाना ल्याउछु, भन्नुको सट्टा हुन्छ, यस्तै हो भन्ने खालको भाषा प्रयोग गरेर कस्ले के गर्न सक्छ जस्ता शब्दहरू उहाँले प्रयोग गर्नु भयो । त्यसपछी हामीले खानाको फोटो र भिडियो खिच्न थाल्यो त्यस पछी “फोटो खिच्छस्? मोबाइल फुटाइदिन्छु!” ” पिलेट अायो, पैसा फिर्ता, सिर्ता हुदैन , जे गर्न सक्छस् गर!”
पैसा फिर्ता त के, माफीको शब्दसमेत थिएन। हुनत ५०० रूपैया ठूलो होइन तर,
सोध्न मन लाग्यो – “हामी के जनावर हौं?”
बसका कर्मचारीचाहिँ छुट्टै कोठामा राम्रो खाना खाँदै थिए – उनीहरूको सेवा त सुनिश्चित थियो।
यात्रु भने घृणासम्म पुग्ने स्तरको व्यवहार भोग्न बाध्य।
गाडीमा फर्केपछि यात्रुहरूबीच एउटै स्वरमा गुनासो थियो –
“किन यस्तो होटलमा रोकियो?”
“खाना त नखाने जस्तै थियो।”
“हामीसँग यस्तो व्यवहार किन?”
के ट्राभल्स कम्पनीले यात्रुहरूलाई सस्तो टिकटमा केवल गन्तव्य पुर्‍याइदिए पुग्छ भन्ने सोच्छ?
स्वच्छ खाना, शिष्ट व्यवहार, आत्मसम्मान… यी कुनै प्राथमिकता होइनन्?
म होटलमा झगडा गर्न गएको थिइनँ, म घर फर्कन लागेको एक सामान्य नेपाली थिएँ।
तर त्यो अनुभवले मलाई बोल्न बाध्य बनायो — मेरो लागि मात्र होइन, हजारौं त्यस्तै यात्रुहरूका लागि जसले वर्षौंदेखि यस्ता अपमान झेलेका छन्।
सुपा देउराली टूर एण्ड ट्राभल्सलाई विनम्र तर दृढ आग्रह: तपाईंहरूको सेवा सिट मात्र होइन, यात्रुको स्वास्थ्य, आत्मसम्मान र सम्मानसँग जोडिएको हो। कृपया “होटल मेचि महाकाली” जस्ता होटलमा बस नरोकिनुहोस् — जहाँ खाना त गुणस्तरहिन छ, व्यवहार झनै तीतो। यात्रुहरूले तिरेको पैसा सस्तो हुन सक्छ, तर त्यो पसिनाले कमाएको हो।
हामीले खोजेको केवल भात, दाल र तरकारी मात्र होइन — त्यो थालसँगै आउने थोरै आदर, थोरै शिष्टता पनि हो।
हामी घर फर्कंदै गरेका छौं – केही थकित, केही आशावादी, केही निराश। तर हामी – तपाईंकै देशका मान्छे, तपाईंकै सेवाग्राही। हामी सम्मानका हकदार छौं।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *