असार १३ गते, कपिलवस्तु । कपिलवस्तुमा प्रारम्भिक कक्षामा अध्यापन गर्ने सामुदायिक विद्यालयका शिक्षकहरुको पेशागत विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम संचालन गरिने भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुको आयोजनामा, रुम टु रिड र पिस नेपालको सहयोगमा आयोजित प्रारम्भिक बैठक मार्फत जिल्ला स्तरिय शिक्षा सरोकारवालाहरुलाई तालिमको उद्देश्य तथा कार्ययोजनाबारे जानकारी गराइएको हो।
सरकारले निर्धारण गरेको आधारभूत तहको एकीकृत पाठ्यक्रमलाई सहज रूपमा विद्यालयमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास कार्यक्रम आयोजकहरुले व्यक्त गरेका छन्। गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले तालिमपछि शिक्षकले प्राप्त सीपलाई व्यवहारमा उतार्दै विद्यार्थीको सिकाइमा सुधार ल्याउने अपेक्षा गरिएको बताए।
रुम टु रिडका फिल्ड कार्यक्रम व्यवस्थापक दिनेश पोख्रेलका अनुसार कपिलवस्तु जिल्लाको बुद्धभूमि, कपिलवस्तु नगरपालिका र मायादेवी गाउँपालिकासहित १० वटै पालिकामा प्रारम्भिक कक्षाका शिक्षकलाई लक्षित गर्दै कस्टमाइज तालिम प्रदान गरिनेछ। तालिमका लागि प्रत्येक पालिकाबाट ३/३ जना शिक्षकलाई स्रोत शिक्षकको रुपमा प्रशिक्षक बनाइने र उनीहरुले पालिका स्तरमा अन्य शिक्षकलाई तालिम दिने वातावरण बनाइने योजना रहेको पोख्रेलले जानकारी दिए।
रुम टु रिडका साक्षरता कार्यक्रम निर्देशक नेत्र दाहाल र कार्यक्रम व्यवस्थापक स्मीता नेपालले एकीकृत पाठ्यक्रम अनुसारको विषयवस्तुमा तालिम दिँदा विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पर्ने बताए। पालिकाका शिक्षा शाखा प्रमुखहरुले जनशक्तिको अभावका कारण समयमै तालिम तथा कक्षा अवलोकन गर्न नसकेको अवस्थामा यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख लोकराज मरासिनीले कक्षा अवलोकन र शिक्षण कार्यको मूल्यांकनमार्फत शिक्षकको कार्यदक्षता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
बैठकमा सामाजिक विकास डिभिजन कार्यालयका प्रतिनिधिहरु, पालिकाका शिक्षा शाखा प्रमुखहरु, रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत बाबुराम पोखरेल, पिस नेपालका कार्यक्रम व्यवस्थापक योगेन्द्र बुढा लगायतको उपस्थिति रहेको थियो। बैठक बाबुराम पोखरेलको सहजीकरण र योगेन्द्र बुढाको सञ्चालनमा सम्पन्न भएको हो।
