नेपाल कृषि प्रधान देश हो, जहाँ अधिकांश नागरिक प्रत्यक्ष वा परोक्ष रूपमा कृषिमा निर्भर छन्। तर पछिल्ला केही वर्षयता यहाँको कृषि प्रणाली, जलस्रोतको अवस्था र रोजगारीसहित समग्र जनजीवन गम्भीर संकटमा फँस्दै गएको देखिन्छ।
यहाँको कृषि प्रणाली अझै पनि मौसमी वर्षामा निर्भर छ। जलवायु परिवर्तनका कारण वर्षाको समय, मात्रा र स्वरूपको अस्थिरता छ। कृषिमा किसानको विश्वास घट्दो छ। असामयिक वर्षा, खडेरी, कीराको प्रकोप आदिले बाली नष्टहुने जोखिम बढ्दो छ।
एक समय देशको करिब ८० प्रतिशत जनसंख्या किसान थियो, अहिले ६० प्रतिशतमा झरेको छ। प्रविधिको अभाव, उन्नत बीउ, गुणस्तरीय मल र भरपर्दो सिँचाइ अभावकै कारणले परम्परागत कृषिमा आधारित नेपाली समाज थप समस्यामा परेको हो।
नेपाल जलस्रोतमा धनी देशका रूपमा चिनिए पनि त्यसको दीर्घकालीन र दिगो व्यवस्थापन गर्न हामी असफल छौं। सहरहरूमा खानेपानीको हाहाकार छ । ग्रामीण क्षेत्रमा भरपर्दो सिँचाइको अभाव छ। खोलानाला सुक्दै गएका छन्, भूगर्भीय जलस्तर घट्दो क्रममा छ।
जलविद्युतको अपार सम्भावना हुँदाहुँदै पनि उर्जा संकट समाधान हुन सकेको छैन। कृषिका लागि आवश्यक इन्धन महँगो छ। मल र बीउको मूल्य पनि आकाशिँदो क्रममा छ। खोलानालाको अनियन्त्रित उत्खननले भूगर्भीय जलस्रोतमा नकारात्मक असर पारेको देखिन्छ।
कृषि कमजोर हुँदा बेरोजगारी बढेकोछ । पानीको पहुँच कम हुँदा स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा गिरावट आउँछ। जब कृषिमा आशा देखिँदैन, तब युवाशक्ति वैदेशिक रोजगारीतर्फ पलायन हुन्छ, जसले गाउँमा श्रमशक्ति र उत्पादन क्षमतामा अभाव उत्पन्न गरिरहेको छ।
यी बहुआयामिक समस्याको समाधानका लागि अब ठोस, रणनीति र दीर्घकालीन योजनाको आवश्यकता छ। सिँचाइमा सूक्ष्म प्रणाली जैविक कृषि प्रविधि र मौसम पूर्वानुमान प्रणालीको विकास अपरिहार्य भइसकेको छ। साथै, कुला र नालाको नियमित सरसफाइ पनि यति नै महत्वपूर्ण छ।
वर्षा पानीको संकलन, ताल-तलाउ तथा कुलानालाको संरक्षण, भूगर्भीय जल पुनःभरण, र सौर्य ऊर्जाको माध्यमबाट पानी तान्ने प्रविधिको प्रयोग विस्तार गर्नुपर्छ। नीति निर्माण र कार्यान्वयनमा सहकार्य आवश्यक छ। कृषि र जलस्रोतलाई राष्ट्रिय प्राथमिकताको सूचीमा राख्नुपर्ने समय आएको छ।
कृषि, जलस्रोत र जनजीवन—यी तीनवटा क्षेत्र आपसमा गहिरो रूपमा जोडिएका छन्। कुनै एउटा कमजोर हुँदा बाँकी दुई क्षेत्रमा पनि प्रत्यक्ष असर पर्छ। नेपालको दिगो विकासको आधार नै यिनमा निर्भर छ। यदि समयमै ध्यान दिइएन भने निकट भविष्यमा हामी खाद्य, पानी र रोजगारी—यी तीनै संकटसँग जुध्न बाध्य हुनेछौं। त्यसैले अहिलेको नीति, लगानी र चेतना यी महत्वपूर्ण क्षेत्रहरूमा केन्द्रित हुनु अपरिहार्य छ।