खोजि गर्नुहोस..

कृष्णनगरको शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु, अब ‘डाक्टर भेट्न’ टाढा जानु नपर्ने

कृष्णनगर ।  स्वास्थ्य सुविधामा नयाँ आयाम थप्दै कृष्णनगर नगरपालिकाको बहादुरगञ्जस्थित शिवराज अस्पतालले सोमबारदेखि औपचारिक रूपमा विशेषज्ञ सेवा सुरु गरेको छ। अब यहाँका नागरिकले बालरोग, नाक-कान-घाँटी (ENT) लगायतका समस्यामा विशेषज्ञ डाक्टरकै सेवा आफ्नै नगरमा पाउने छन्। देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट र कृष्णनगर नगरपालिका तथा अस्पतालको संयुक्त सहकार्यमा हप्तामा दुई जना विशेषज्ञ चिकित्सकले सेवा दिने व्यवस्था गरिएको छ। सुरुवातमै सेवा लिन आएका ४५ जना बिरामीमध्ये १५ जना बालरोग तथा ३० जना इएनटी सम्बन्धी समस्या भएका थिए। विशेषज्ञ सेवाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रजत प्रताप शाहले भन्नुभयो, “अब हाम्रो अस्पतालबाट नै गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध हुनेछ। सामान्य जाँचदेखि परामर्शसम्मको सुविधा घरमै पुगेर लिएको जस्तो अनुभूति दिलाउने हाम्रो प्रयास हो।”

शिवराज अस्पतालले हालसम्म इमर्जेन्सी, ल्याब र साना अपरेशन सेवा २४ घण्टै प्रदान गर्दै आइरहेको थियो। आजदेखि थपिएको विशेषज्ञ सेवाले अस्पतालको सेवा र स्तर दुबैमा नयाँ उचाइ थपिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद बढई बताउँछन्। विशेषज्ञ सेवा सुरुवात गर्दै बालरोग विशेषज्ञ डा. लक्ष्मण पौडेलले भने, “देवदह मेडिकल कलेजको सहकार्यमा हामीले नियमित रूपमा सेवा दिन थालिसकेका छौं। यो सेवाले स्थानीय स्वास्थ्य पहुँचमा क्रान्तिकारी सुधार ल्याउनेछ।” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले भने, “शिवराज अस्पतालको सेवा विस्तारसँगै अब उपचारका लागि भारत, बुटवल वा काठमाडौं धाउनु पर्ने बाध्यता क्रमशः हट्दै जानेछ। हामी विशेषज्ञ सेवा, गुणस्तरीय ल्याब, माइनर अपरेशन र रोग स्क्यानिङ सेवामार्फत नागरिकको भरोसा जित्ने दिशामा अघि बढेका छौं।” अब अस्पतालले नियमित रूपमा विशेषज्ञ सेवा, गुणस्तरीय ल्याब, माइनर अपरेशन, र रोग पहिचान (स्क्यानिङ) सेवा थप्दै जानेछ। सेवा विस्तारसँगै नागरिकको उपचार खर्च घट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *