बुटवल, लुम्बिनी प्रदेश – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहल गर्ने घोषणा गरेका छन्। उनले संघीय सरकारसँग समन्वय गर्दै जितगढी किल्लालाई सूचिकृत गर्न आवश्यक कदम चाल्ने बताएका छन्। यस कदमले राष्ट्रिय गौरवको सम्मानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने आचार्यले उल्लेख गरे।

आज जितगढी उत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कर्नेल उजिरसिंह थापालाई राष्ट्रिय नायकका रूपमा सम्मानित गर्नका लागि संघीय सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए। इतिहासबाट धेरै कुरा सिक्न र बुझ्नका लागि उनले वीरता र बलिदानको महत्त्वमा जोड दिँदै भने, “हामीलाई नयाँ पुस्तालाई वीरताको कथा सुनाउनु पर्छ र इतिहासप्रति गर्व गर्ने वातावरण निर्माण गर्न आवश्यक छ। राष्ट्रप्रति देखाइएको समर्पणको भावना हामीले सधैं सम्मान गर्नुपर्छ।”
अंग्रेज सेनालाई हराउन सफल भएका नेपाली फौजको आत्मविश्वासलाई उनले अत्यन्त महत्त्वपूर्ण ठान्दै भने, “उतिबेलाका योद्धाहरूको योगदानका कारण आज हामी यहाँ छौँ।”
मुख्यमन्त्री आचार्यले बुटवललाई आर्थिक राजधानी बनाउन प्रदेश सरकारका योजना दृढताका साथ कार्यान्वयन गरिने जनाए। स्थानीय सरकारसँग साझेदारी गर्दै बुटवलको समृद्धि र विकासका लागि बनाइएका योजनाहरू प्रभावकारी रूपमा लागू गरिने उनले स्पष्ट पारे।
नेपाल–अंग्रेज युद्धको ऐतिहासिक स्मरणको रूपमा बुटवलको जितगढीमा आज उत्सव मनाइएको हो। यस अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जितगढी किल्लालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र कर्नेल उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गरे। उनले भने, “जितगढी उत्सवलाई संघीय सरकारको समर्थन र अपनत्व आवश्यक छ, र हामी प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्दै यस क्षेत्रको समग्र विकासमा जुट्नेछौँ।”
कार्यक्रममा उपमहानगरकी उपप्मुख साबित्रादेबी अर्याल, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र इतिहासविद देवेन्द्रराज शाक्य लगायतले जितगढी किल्लाको ऐतिहासिक र सांस्कृतिक महत्त्वमा प्रकाश पारे।
जितगढी किल्लामा कर्नेल उजिरसिंह थापाको नेतृत्वमा १८७२ सालमा नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको ऐतिहासिक घटना घटेको थियो। यही ऐतिहासिक विजयको सम्झनामा बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष जितगढी उत्सव मनाउँदै आएको छ।
उत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए, जसमा देशभक्ति गीत र नृत्य प्रस्तुत गरिए। अंग्रेज सेनासँगको लडाइँको सम्झनामा जितगढी किल्लाको नामकरण ‘जितगढी’ भएको थियो।
आज, गोरखाबाट गढी र किल्लाहरूको संरक्षण र प्रवर्द्धनका लागि निस्केका पदयात्रीलाई पाल्पाको नुवाकोटमा स्वागत गरियो। बुटवल उपमहानगरका उप प्रमुख साबित्रादेबी अर्याल र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे लगायतका अधिकारीहरूले पदयात्रि टोलीलाई सम्मान गरेका थिए।