भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंगलोरमा पनि उडान गर्ने भएको छ । एयरलाइन्सले २९ जेठदेखि हरेक मंगलबार काठमाडौं क्वालालम्पुर, भैरहवा काठमाडौं रुटमा उडान भरिरहेको छ ।
१२ भदौदेखि एयरलाइन्सले भैरहवाबाट हङकङ र दिल्लीका लागि पनि यात्रु लिएर आउने गरी टिकट बुकिङ खोलेको थियो ।अब सोही रुटलाई विस्तार गर्दै भैरहवाबाट बैंगलौरका लागि पनि बुकिङ खुल्ला गरेको निगमले जनाएको छ ।
नयाँ उडान तालिकाअनुसार हरेक मंगलबार बिहान ८ः १५ बजे भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । १ बजेर २५ मिनेटकै अर्को उडानमा बैंगलौरका लागि उडान गरिने एयरलाइनसका प्रवक्ता रमेश पौडेलले बताए । एयरलाइन्सले यात्रु चेकिङकै क्रममा गन्तव्यसम्मकै बोर्डिङ पास उपलब्ध गराउने र यात्रुहरुको लगेज सिधै गन्तव्य मुलुकमै पुग्ने पनि जनाएको छ । यात्रुहरुले नेपाल एयरलाइन्सको वेवसाइट वा ट्राफभल एजेन्सीबाट टिकट काट्न सकिने पनि एयरलाइन्सले जनाएको छ ।