लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘महान् नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ को औपचारिक शुभारम्भ भएको छ । सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय युवा अभियन्ता मदन केसीले ‘नेपाल चिनौँ, नेपाल जगाऔँ, नेपाल बनाऔँ’ भन्ने मूल नाराका साथ बिहीबार मायादेवी मन्दिर परिसरबाट पदयात्राको थालनी गर्नुभएको हो ।
पदयात्राको शुभारम्भमा अभियन्ता केसीलाई उहाँका बुवा तेजु खत्री र आमा लक्ष्मी खत्रीले खादा तथा टीका लगाइदिएर सफलताको शुभकामनासहित बिदाइ गर्नुभयो । सोही अवसरमा केसीले ५ वर्षे पैदल यात्राका क्रममा गरिने कार्ययोजना र लक्ष्यसहितको घोषणा–पत्र समेत सार्वजनिक गर्नुभएको छ ।

विप्लव नेतृत्वको नेकपामा सक्रिय राजनीति गर्नुभएका केसीले राजनीतिबाट मात्रै देश रूपान्तरण सम्भव नहुने निष्कर्ष निकाल्दै यस अभियानमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज पनि नेपालका धेरै गाउँबस्तीहरू राज्यको नजरबाट टाढा र विकासको अवसरबाट वञ्चित छन् । नेपाललाई नक्साले मात्र होइन, पैदल हिँडेरै नेपाली ‘नेपालको माटो र नेपालीको आवाज’ बुझ्न चाहन्छु ।”
हिमाल, पहाड र तराईका साथै पूर्बमा मेची देखी पश्चिमको मकालीसम्मका दुर्गम गाउँ बस्तीसम्म पुगेर नागरिकका समस्या, सम्भावना र सपनाहरूको संकलन गर्ने तथा भिडियो, फोटो र लेखनमार्फत दस्तावेज बनाउदै स्थानीय इतिहास, भाषा, परम्परा र जीवनशैलीको संरक्षण एवं प्रवद्र्धन गर्ने, विविधतायुक्त नेपाली समुदाय र संस्कृतिलाई भावनात्मक रूपमा जोड्दै युवाहरूमा देशप्रतिको जिम्मेवारी बोध गराउने यस पदयात्राको मुख्य उद्देश्य रहेको अभियान्ता केसीले बताउनुभयो ।
केसीले भन्नुभयो, “यस अभियानमा ‘महान् रिसर्च प्रालि’ ले अनुसन्धान, डाटा संकलन तथा डकुमेन्टेसनमा सहकार्य गर्नेछ ।” केसीका अनुसार यो पदयात्रा आगामी २०८७ साल चैत ४ गतेसम्म निरन्तर सञ्चालन हुनेछ । उहाँले दैनिक १५ देखि २५ किलो मिटरसम्मा हिँड्ने र बेलुका स्थानीय समुदायसँगै बसेर संवाद गर्ने लक्ष्य राख्नुभएको छ । यो अभियान मुख्यतया सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेम गरी पाँच आधारभूत सिद्धान्तमा केन्द्रित रहने उहाँले बताउनुभयो ।
मायादेबी मन्दिर परिसरमा बिहीबार आयोजित ‘महान नेपाल ५ वर्षे पदयात्रा’ शुभारम्भ कर्यक्रममा बोल्दै संयोजक केसीले यस बृहत् राष्ट्रिय संकल्पलाई सफल बनाउन सम्पूर्ण सञ्चारकर्मी, सरोकारवाला र आम नागरिकहरूलाई नैतिक समर्थन, साथ र सहयोगका लागि अपिल समेत गर्नुभयो ।