बसन्त बन्जाडे, कपिलवस्तु। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले मुलुकमा १८ घण्टा लामो लोडसेडिङको अन्त्य गरेर उज्यालो युग ल्याउने नेतृत्वले मात्रै अब देशमा सुशासन र आर्थिक समृद्धि ल्याउन सक्ने दाबी गर्नुभएको छ।
कपिलवस्तु क्षेत्र नम्बर ३ को कृष्णनगरमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनलाई सामान्य हार–जितको रूपमा मात्र नलिन आग्रह गर्नुभयो। उहाँले यसलाई राष्ट्रिय स्वाधीनता र जनताको अधिकार रक्षाका लागि गरिएको एउटा ‘जनमत संग्रह’ को संज्ञा दिनुभयो।
प्रचण्डले आफ्नो कार्यकालमा भएको लोडसेडिङ अन्त्यको प्रसङ्गलाई निकै महत्वका साथ उठाउनुभयो। उहाँले भन्नुभयो, “तपाईंहरूलाई सम्झना छ, केही वर्षअघि मात्रै यो देशमा १२, १४ र कहिलेकाहीँ १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। उद्योगधन्दा ठप्प थिए, विद्यार्थीले अन्धकारमा पढ्नुपथ्र्यो। सबैले भन्थे— यो लोडसेडिङ कहिल्यै हट्दैन।” “तर मैले दृढ संकल्प गरेँ कि नेपाली जनतालाई यो सास्तीबाट मुक्त गर्नैपर्छ। मैले कर्मचारी संयन्त्रमा आवश्यक ‘सेटिङ’ मिलाएँ, कुशल व्यवस्थापन गरेँ र आज देश लोडसेडिङ मुक्त छ। यो उज्यालो नेपाल बनाउने काम हाम्रै नेतृत्वमा भएको हो। जसले अँध्यारो हटाउन सक्छ, उसैले मात्र देशको गरिबी र बेथिति पनि हटाउन सक्छ।”
मुस्लिम बाहुल्य रहेको कृष्णनगरमा सम्बोधन गर्दै प्रचण्डले ‘रमजान’ को उपलक्ष्यमा ‘रोजा मुबारक’ भन्दै शुभकामना दिनुभयो। उहाँले मधेसी र मुस्लिम समुदायको पहिचानका लागि कम्युनिष्ट पार्टीले नै सबैभन्दा बढी रगत बगाएको स्मरण गराउनुभयो।
उहाँले भन्नुभयो, “मुस्लिम समुदायको स्वाभिमान र आत्मसम्मानका लागि जनयुद्धदेखि जनआन्दोलनसम्म हामीले नै संघर्ष ग¥यौँ । आज संविधानमा जुन अधिकारहरू छन्, ती हाम्रै त्यागका उपज हुन् । अब संविधान संशोधन गरेर मुस्लिम, दलित, मधेसी र थारुहरूको अधिकार अझ थप्नुछ । यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुको विकल्प छैन।”
कपिलवस्तुको विकासको जिम्मा मेरो भयो ः प्रचण्ड
यस क्षेत्रका उम्मेदवार एहसान अहमद खान (तारा चिन्ह) को पक्षमा मतदान गर्न अपिल गर्दै प्रचण्डले भन्नुभयो, “यस क्षेत्रमा २४ हजारभन्दा बढी मुस्लिम मतदाता हुनुहुन्छ । एकजना सक्षम मुस्लिम उम्मेदवार तपाईंहरूको बीचमा हुनुहुन्छ। उहाँलाई अत्यधिक बहुमतले विजयी गराएर पठाउनुस ्। कपिलवस्तुको बाटोघाटो, शिक्षा र अस्पताल बनाउने जिम्मा म व्यक्तिगतरूपमा लिन्छु ।”
तराई–मधेसको मुख्य समस्याका रूपमा रहेको मिटरब्याज पीडितहरूको प्रसङ्ग निकाल्दै उहाँले आफ्नो नेतृत्वको सरकारले कानुन बनाएर पीडितलाई न्याय दिन सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कपिलवस्तुमा पनि मिटरब्याजको समस्या अझै छ। निर्वाचन लगत्तै यसलाई पूर्ण रूपमा निर्मूल पारिनेछ। साथै, उखु किसानले आफ्नो पसिनाको मूल्य नपाएको गुनासो मैले सुनेको छु। किसानलाई ठग्नेहरूलाई कारबाही गर्ने र बक्यौता रकम दिलाउने जिम्मा म लिन्छु।”
प्रचण्डले भ्रष्टाचार देशको विकासको मुख्य बाधक भएको उल्लेख गर्दै भन्नुभयो, “हामीले भ्रष्टाचारका ठूला–ठूला काण्डहरू खोल्न थालेका थियौ । सुशासनको यो यात्रा अब रोकिने छैन। राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा उभिने शक्तिलाई विजयी गराउनु आजको आवश्यकता हो।”
निर्वाचन फैलाइएका विभिन्न हल्ला र भ्रमको पछि नलाग्न आग्रह गर्दै उहाँले बाहिर सामाजिक संजालमा अनेकौ हल्ला भएता पनि नेकपा पक्षमा देशभरि नै पार्टीको पक्षमा जनलहर सिर्जना भएको दाबी गर्नुभयो।