बुटवल, २० भदौ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी संस्थाको हितकालागि मर्ज प्रकृयालाई खुल्ला राख्नुका साथै बहुउद्देश्यीय योजनालाई अगाडि सारेको छ ।
संस्थाको शुक्रबार बुटवलमा सम्पन्न २७ औं वार्षिक साधारण सभाले शेयर सदस्यको हितका लागि बहुउद्देश्यीय कार्यक्रमलाई बृद्धि गर्ने र संस्थाको हितकालागि मर्ज प्रकृयालाई अगाडि सार्ने प्रस्तावलाई पारित गरेको हो ।
साधारण सभाले शेयर सदस्य÷शेयर थप, बचत वृद्धि, साथै सदस्यहरुलाई उत्पादनमुलक र ब्यवसायमुखि लगानी गर्दै आत्मनिर्भरताकालागि प्रेरित गर्ने कार्यक्रम गर्ने आगामि वर्षको नीति तथा कार्यक्रमलाई समेत पारित गरेको अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँले मुलुकका केही सहकारीहरु जोखिममा पर्दै गएकाले त्यो अवस्थाबाट इन्द्रेणीलाई सुरक्षित बनाउनकालागि उत्पादनमुलक कार्यक्रममा लगानी र जोखिम कर्जालाई कम गर्दै जाने नीति लिएको समेत बताउनुभयो । शेयर सदस्यहरुबाट बचत भएको संस्थाको पुँजीलाई सुरक्षित सँगै वृद्धि गर्नकालागि संस्थाले ईभि फाष्टिङ्ग चार्जिङ स्टेशन, दुग्धजन्य पदार्थ विक्रि केन्द्र, आफ्नै भवनमा खाजा घर समेत संचालन गरेको उल्लेख गर्दै सहकारीले अतिथि विश्रामगृह (गेष्टहाउस) संचालनको योजना समेत बनाएको बताउनुभयो ।
सो अवसरका साधारण सभाको उद्घाटन गर्दै लुम्विनी प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष तथा सहकारी विज्ञ टिकाराम पोखरेलले सहकारीलाई बचत गर्ने थलो मात्र नवनाएर उत्पादनमुलक क्षेत्रमा पनि चलायमान बनाउनु पर्ने सुझाव दिनुभयो । उहाँले सहकारीहरु नीतिगत र सहकारी सिद्धान्त अनुसार संचालन भएका जोखिममा पर्ने खतरा न्युन हुने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेमप्रसाद सुवेदी, वचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष बसन्त ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष टिका न्यौपाने, संस्थाका संरक्षक भुपालकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्व अध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, लेखा समिति संयोजक लुंजलाल शाक्य, मुल्यांकन समिति संयोजक दलबहादुर थापा, जेष्ठ शेयर सदस्य राधेश्याम राजभण्डारी लगायतले आआफ्ना भनाइ राख्नु भएको थियो ।
संस्थाका उपाध्यक्ष माया गौतमको स्वागत तथा सचिव नरबहादुर रजालीको संचालनमा भएको कार्यक्रममा सहकारीका जेष्ठ सदस्य तथा प्राविधिक शिक्षातर्फ विद्यावारीधि र अन्यमा स्नातकोत्तर गरेको शेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमका कोषाध्यक्ष कृष्णप्रसाद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै इन्द्रेणीको कुल पुँजी ६४ करोड २० लाख, शेयर पुँजी १० करोड ४५ लाख ६ हजार ५ सय, बचत ४० करोड ६९ लाख, कुल कर्जा ४१ करोड ९५ लाख रहेकोे बताउनुभयो ।