खोजि गर्नुहोस..

श्री कृषक आदर्श माविको सामाजिक–आर्थिक लेखा परीक्षण सम्पन्न

लुम्बिनी, रुपन्देही – सम्मरीमाई गाउँपालिका–७ स्थित श्री कृषक आदर्श माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१/८२ का गतिविधिहरूको वार्षिक सामाजिक–आर्थिक लेखा परीक्षण सम्पन्न गरेको छ। विद्यालयलाई समुदायप्रति अझ पारदर्शी र जवाफदेही बनाउन तथा शैक्षिक गुणस्तर सुधारका सुझाव संकलन गर्न उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा विन्ध्याचल त्रिपाठीको संयोजनमा बनेको लेखा परीक्षण समितिका सदस्य शारदा मिश्रले विस्तृत प्रतिवेदन प्रस्तुत गरिन्। नेत्रप्रसाद ज्ञवालीले विद्यालय सुधार योजना अन्तर्गत तयार पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरे।

सहायक प्रधानाध्यापक राजेश यादवले विद्यालयका शैक्षिक, भौतिक र अतिरिक्त क्रियाकलापका उपलब्धिबारे जानकारी दिँदै विद्यालयमा सामुदायिक निगरानी र पहुँचको आवश्यकता औंल्याए। वक्ताहरूमा सामुदायिक विपत् व्यवस्थापन राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष जगन्नाथ प्रसाद कुर्मीले विद्यालयको सफलतामा समुदायको सक्रिय भूमिकाको महत्व उल्लेख गर्दै विद्यालयको प्रयासको प्रशंसा गरे। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका संस्थापक सदस्य रामविकास चौधरीले गुणस्तरीय परिणामका लागि विद्यालय र समुदायबीच निरन्तर संवाद हुनुपर्नेमा जोड दिए।

खुला छलफलमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरोकारवालाले शिक्षकको अभाव समाधान, पुस्तकालयमा पुस्तक व्यवस्थापन, खानेपानी र सरसफाइ सुधार, तथा खेलकुद सामग्रीको उपलब्धतामा जोड दिन सुझाव दिए।

उठेका प्रश्न र सल्लाहलाई सम्बोधन गर्दै प्रधानाध्यापक उमाकान्त अर्यालले आगामी कार्ययोजनामा डिजिटल शिक्षण, पुस्तकालयको सुदृढीकरण र प्राविधिक शिक्षा सञ्चालनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश यादवले सबैलाई बालबालिकाको पढाइमा ध्यान दिन र विद्यालयका गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।

कार्यक्रमको समापनमा शिक्षक–अभिभावक संघका अध्यक्ष कमरुद्दीन खाँले विद्यालय र समुदायबीच सहकार्यलाई अझ मजबुत बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार, यस्तो कार्यक्रमले विद्यालयलाई विद्यार्थीमैत्री र गुणस्तरीय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *