कपिलवस्तु, जेठ २१ – सुर्खेतको विरेन्द्रनगर रंगशालामा जारी यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका कप्तान रौनक श्रीवास्तवले दोहोरो शतक प्रहार गर्दै नेपाली क्रिकेटमा ऐतिहासिक कीर्तिमान थपेका छन्। उनले गण्डकी प्रदेशविरुद्ध ११७ बलमा १६ छक्का र १६ चौकाको मद्दतले अविश्वसनीय २१७ रन बनाएका हुन्।
यस विस्फोटक पारीको आधारमा लुम्बिनीले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको विशाल योगफल तयार गर्यो। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका स्थायी बासिन्दा रौनक यसअघि पनि पाल्पाविरुद्ध दुईपटक शतक बनाइसकेका प्रतिभाशाली खेलाडी हुन्। उनी हाल कपिलवस्तु U16 टिमका कप्तान समेत हुन्। अनुशासित, मिहिनेती र समर्पित रौनकले जिल्लास्तरका खेल हुँदै प्रदेशस्तरसम्म आफूलाई प्रमाणित गर्दै आएका छन्।
कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले रौनकको प्रदर्शनलाई ‘ऐतिहासिक’ भनी प्रशंसा गर्दै नेपाल क्रिकेट संघ (क्यान) र प्रदेश संघहरूले यस्ता प्रतिभालाई संरक्षण गर्न नीति ल्याउनु आवश्यक भएको बताए। “रौनकले देखाएको प्रदर्शनले नेपाली क्रिकेटमा उज्यालो सम्भावना देखिएको छ,यस्ता खेलाडीलाई दबाव नदिई खेल्न दिने र उनीहरूको संरक्षण गर्नु अब संघहरूको जिम्मेवारी हो।” गैरेले भने
रौनकको कीर्तिमानी पारीले न केवल कपिलवस्तु जिल्लालाई, सम्पूर्ण लुम्बिनी प्रदेश र राष्ट्रलाई गर्वित बनाएको छ। यसले विद्यालय, अभिभावक र खेलकुद निकायहरूलाई पनि खेलमा लगानी गर्न हौसला प्रदान गर्ने विश्वास गरिएको छ।
