बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आफ्ना सदस्य उद्योगी व्यवसायीलाई आर्थिक विधेयक २०८२ का बारेमा जानकारी दिने उद्देश्यले बुटवलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

सोमबार आयोजित अभिमुखिकरण कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख कर अधिकृत टिकाराम गैरेले उद्योगी व्यवसायीलाई छुट सुविधा, करको दर हेरफेर तथा नयाँ कानुनी प्रावधानलगायतका विषयमा जानकारी दिँदै विधेयकमा उल्लेख गरिएका सुविधाबाट लाभ लिन आग्रह गरे। उनले नक्कली करदाता बिलको प्रयोगमा बढ्दो जोखिमप्रति सतर्क रहन समेत उद्योगी व्यवसायीलाई अनुरोध गरे।
संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वल प्रसाद कसजूले बजेटले उठाइएको धेरैजसो माग समेटेकाले सकारात्मक रुपमा लिनुपर्ने बताए। बजेट र आर्थिक विधेयकमा समावेश विषयवस्तु स्पष्ट रुपमा बुझाइयो भने उद्योगी व्यवसायीले थुप्रै लाभ लिन सक्ने उनले बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले आर्थिक विधेयक २०८२ मा गहिरा र प्राविधिक विषयहरू रहेका कारण उद्योगी व्यवसायीहरूले त्यसबारे स्पष्ट जानकारी पाउनुपर्ने आवश्यकता औँल्याउँदै आयोजित अभिमुखिकरण कार्यक्रम उद्योगी व्यवसायीका लागी उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
अभिमुखिकरण कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्स संघ (एक्यान) रुपन्देहीका सचिव एवं सिए सगुण खनालले कार्यपत्र प्रस्तुत गर्दै आर्थिक विधेयक २०८२ मा समावेश विभिन्न नयाँ प्रावधानहरूबारे जानकारी गराए। उनले पर्यटन शुल्क खारेज गरिएको, हरित कर, वैदेशिक रोजगार सेवा शुल्क, विलासिताका वस्तुमा शुल्क र वैदेशिक अध्ययनमा शिक्षा सेवा शुल्क थप गरिएको जानकारी दिए। साथै, विभिन्न छुट सुविधाहरूको व्याख्या गर्दै उनले आय विवरण पेस नगर्ने, विद्युतीय सेवा प्रदायक, जलविद्युत आयोजना, सामाजिक संस्था, सार्वजनिक तथा निजी सवारी साधन लगायतका क्षेत्रहरूमा दिइएका सुविधाहरूको समेत ब्याख्यान सहित उल्लेख गरे।
संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको धन्यवाद ज्ञापन तथा सचिव प्रतिक पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।