खोजि गर्नुहोस..

शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न कृष्णनगर र देवदह मेडिकल कलेजबीच समझदारी

कृष्णनगर_नगरपालिका

शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु गर्न कृष्णनगर र देवदह मेडिकल कलेजबीच ऐतिहासिक समझदारी, स्थानीय जनताले अब आफ्नै नगरमै पाउनेछन् गुणस्तरीय स्वास्थ्य सेवा

कृष्णनगर नगरपालिकाले आफ्नो स्वास्थ्य सेवा प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने दिशामा एक महत्वपूर्ण कदम चालेको छ। रूपन्देहीस्थित देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटसँग सहकार्य गर्दै नगरपालिकाले बहादुरगञ्जस्थित ऐतिहासिक शिवराज अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरु गर्न ऐतिहासिक सहमति गरेको छ।

नेपालका पुराना र महत्वपूर्ण अस्पतालहरूमध्ये पर्ने शिवराज अस्पताल विगत केही समयदेखि चिकित्सकको अभाव, उपकरणको कमी र आधारभूत पूर्वाधारको न्यूनताले सीमित सेवा मात्र दिँदै आएको थियो। यसै सन्दर्भमा नगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गर्दै सार्वजनिक–निजी साझेदारी (PPP मोडेल) अन्तर्गत सेवा सुधार गर्ने योजना अघि सारेको हो।

शिवराज अस्पतालमै आयोजित समझदारी आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख रजत प्रताप शाहले अब नगरवासीहरूले सामान्य उपचारका लागि टाढा जानु नपर्ने बताएका छन्। “हामी स्वास्थ्य क्षेत्रमा पहुँच मात्र होइन, गुणस्तरमा पनि सुधार ल्याउन चाहन्छौं। अब नागरिकहरू आफ्नै नगरमा विशेषज्ञ सेवा लिन सक्नेछन्,” शाहले बताए।सम्झौतामा सहभागी देवदह मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत गोपालबहादुर भण्डारीले शिवराज अस्पतालजस्तो ऐतिहासिक संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए। “हामी नागरिकको स्वास्थ्यलाई केन्द्रमा राखेर सेवा विस्तार गर्दैछौं। प्रारम्भिक चरणमा आन्तरिक रोग, स्त्रीरोग, बालरोग र हाडजोर्नी सेवा उपलब्ध हुनेछ,” भण्डारीले जानकारी दिए।

उनका अनुसार, विशेषज्ञ सेवाको लागि आवश्यक जनशक्ति, उपकरण र प्रविधि मेडिकल कलेजले व्यवस्थापन गर्नेछ भने नगरपालिकाले पूर्वाधारको व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ।सम्झौता कार्यक्रममा नगर उपप्रमुख आरतीदेवी चौधरी, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, स्वास्थ्य शाखा प्रमुख, शिवराज अस्पतालका प्रतिनिधि र देवदह मेडिकल कलेजका पदाधिकारीहरूको उपस्थिति थियो। उपप्रमुख चौधरीले मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गर्दै महिला तथा बालबालिकाको संवेदनशील स्वास्थ्य आवश्यकताको सम्मानपूर्वक सम्बोधन गर्नुपर्ने बताइन्।

स्थानीय जनप्रतिनिधिहरूले पनि शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु हुनु स्थानीय स्वास्थ्य सूचकमा सुधार ल्याउने विश्वास व्यक्त गरे। अस्पताल व्यवस्थापन समितिले जनअपेक्षा अनुसार सेवा दिन तयार रहेको बताउँदै आवश्यक समन्वय र सहज वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ।

कृष्णनगर_नगरपालिका णकृष्णनगर नगरपालिकाले विगतमा पनि स्वास्थ्य बीमा कार्यक्रम, सुरक्षित मातृत्व सेवा, स्वास्थ्य चौकीहरूको स्तरोन्नति लगायतका पहलहरू गर्दै आएको छ। हालको यो सहकार्यले नगरपालिकाको स्वास्थ्य सेवा सुधार अभियानलाई थप गति दिएको देखिन्छ।

शिवराज अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि कपिलवस्तुको पश्चिमी क्षेत्रका हजारौं नागरिकले प्रत्यक्ष लाभ उठाउनेछन्। सीमावर्ती क्षेत्रका जनताले पनि सहज र गुणस्तरीय उपचार सेवा पाउने अपेक्षा गरिएको छ।

यस समझदारीले कृष्णनगर नगरपालिकालाई स्वास्थ्य क्षेत्रमा अग्रगामी नगरका रूपमा स्थापित गर्दै जनस्वास्थ्यको विकासमा नयाँ अध्याय सुरु गरेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *