चैत्र ५, परासी । नेपाल पत्रकार महासंघ, पश्चिम नवलपरासीमा आवद्ध पत्रकारहरूका लागि सञ्चालित ‘स्थानीय विकासमा सञ्चारको भूमिका’ विषयक दुईदिने तालीम सुस्ता गाउँपालिकामा सम्पन्न भएको छ।
तालिमको उद्घाटन प्रमुख अतिथि सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले गर्नुभएको थियो। अध्यक्ष उपाध्यायले आर्थिक वर्ष २०८०/०८१ मा ९३ प्रतिशत बजेट खर्च गर्दै सुस्ता गाउँपालिका विकासमा अग्रस्थानमा रहेको बताउँदै नारायणी नदीमार्फत उल्लेख्य राजस्व संकलन गर्न सफल भएको जानकारी दिनुभयो।
उहाँले पर्यटकीय स्थलको रूपमा बिकास भैरहेको सुस्ता झोलुङ्गे पुल नजिकै पाँच कठ्ठा जग्गा लिजमा लिएर चमेना गृह, शौचालय र पार्किङ स्थल निर्माण गरिएको बताए। साथै, सहरी विकास कार्यक्रमअन्तर्गत जनता आवास कार्यक्रम संचालन भैरहेको तर धेरै जनतासँग नागरिकता नभएकाले नागरिकता अभावले आवास तथा विद्युत् सेवा वितरणमा समस्या रहेको उल्लेख गर्नुभयो।
शीत भण्डार निर्माण भए पनि प्रयोग नहुँदा ठेक्कामा दिन लागिएको र विकासमा पत्रकारको सकारात्मक कलमको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
तालिममा गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले महिलाका लागि आत्मनिर्भरता अभिवृद्धि गर्ने तालिम सञ्चालन गरिएको जानकारी दिँदै वरिष्ठ नागरिक र स्वास्थ्य सेवा सुधारमा पनि गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो। साथै, फोहरमैला व्यवस्थापनका लागि ट्याक्टर सञ्चालन, र पूर्वाधार अनुगमनमा आफ्नो प्रतिबद्धता दोहोर्याउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुषालले चालु आर्थिक वर्षमा ६६ करोड ४८ लाखको बजेट रहेको उल्लेख गर्दै सुस्ता गाउँपालिका ‘नमुना सुस्ता’ बन्ने दिशातर्फ अग्रसर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सबै वडाहरूलाई कालोपत्रे सडकमार्फत आपसमा जोडिएको छ, २ करोड ५० लाखको लगानीमा जनता आवास कार्यक्रम संचालन, २ करोड ९० लाख लागतमा कवड्डी हल निर्माण, १ करोड ९५ लाख लागतमा सुस्ता ताल निर्माण गरी पर्यटन प्रवर्द्धन गरिएको छ।
विद्यालय शिक्षामा सुधार ल्याउन ५० वर्षभन्दा माथिका शिक्षकहरूलाई स्वैच्छिक अवकाश (गोल्डेन ह्यान्डशेक) दिई नयाँ शिक्षकको व्यवस्थापन गरिएको छ। चालु आर्थिक वर्षमा ३ सय योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
तालिम नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष केशब पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। तालिममा महासंघका उपाध्यक्ष विकास अधिकारी, पत्रकार आर.पी. उपाध्याय, निवर्तमान अध्यक्ष हरि शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। राष्ट्रिय समाचार समितिका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले तालिम सहजीकरण गर्नुभएको थियो भने महासंघका सचिव अनिल यादवले कार्यक्रम सञ्चालनको समापन जानकारी दिनुभयो।