भानु मरासिनी, कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध वडा अध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । पालिकाका ८ वटै वडा अध्यक्षहरूले प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले काम गरेको अनावश्यक दुख दिएको भन्दै गाउँपालिका अध्यक्ष वली मुसलमान मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन् ।
ज्ञापन पत्रमा प्रमुख प्रशासकीय अधिकृत सविन सिंह चौधरीले जनप्रतिनिधि र नागरिकहरूलाई अनावश्यक दुःखः दिएको, अभद्र व्यवहार गरेको भन्दै ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । साथै ज्ञापन पत्रमा अधिकृत चौधरीले नियमित काम भन्दा पनि अनावश्यक आर्थिक चलखेलमा बढी ध्यान दिएको भन्दै छिटो छरितो काम गर्न तथा गराउन माग गरिएको छ । यस्तै अवस्था रहेमा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने चतावनी समेत ज्ञापन पत्रमा मार्फत दिएको छ । आइतबार ज्ञापन पत्र बुझाउदै प्रमुख प्रशासकीय अधिकृतले मनोमानी ढंगले चलेको, जनप्रतिनिधिहरूलाई अनावश्यक दुःखः दिएकोले बाध्य भएर ज्ञापन पत्र बुझाईको वडा नं. ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । प्रमुख प्रशासकीय अधिकृतले सहज सरल ढंगले काम अगाडि नबढाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर सङ्घर्षका कार्यक्रम अगाडि बढाउने उनले चेतावनी समेत दिएका छन् ।
आफूले नियम पूर्वक पदीय मर्यादामा रहेर काम गरिरहेको प्रमुख प्रशासकीय चौधरी बताएका छन् । आवश्यक कागजात माग गर्दा वार्ड न. ३ का वडा अध्यक्षले अनावश्यक लान्छना लगाएकाे बताउदै आफू कसैको प्रभाव र दवावमा रहेर भन्दा नियम कानुनको आधारमा काम गर्ने बताए । नागरिकको सहजता आफ्नो प्रमुख प्राथमिकता भएको समेत उनले बताएका छन् ।
गाउँपालिका अध्यक्ष वलीउद्दिन मुसलमानले प्रमुख प्रशासकीय अधिकृत दुई दिन बिदामा रहेको र आए पछि छलफल गरि सहज र सरल ढंगबाट पालिका बासीलाई सेवा प्रवाह गरिने बताएका छन् । पालिकामा विवाद हुन नदिन सबै पक्ष बसेर छलफलको माध्यमबाट आफूहरू अगाडि बढ्ने अध्यक्ष मुसलमानले बताए ।
