प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ।आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको उनले बताए।‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको?,’ ज्ञवालीले प्रश्न गरे, ‘यसबारे सदनले थाहा पाउन जरूरी छ।’ प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आएका छन्।
प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन।अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताए। साथै उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको उनको भनाइ थियो।केही दिनअघि संसदमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणबारे कुरा उठाएका थिए।
Related