कपिलवस्तु । मुस्लिम महिलाले मस्जिदमा भेला भएर सामूहिक प्रार्थना गरेका छन् । कोरोना संक्रमणले दुईवर्षसम्म सामूहिक प्रार्थना हुन सकेको थिएन । मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा उनीहरुले दुई वर्षपछि भेला भएर प्रार्थना गरेका हुन् । दुईवर्षपछि मस्जिदमा भेला भएर प्रार्थना गर्न पाउँदा उनीहरु निक्कै खुसी भएका थिए । मंगलबार मुस्लिम धर्मावलम्बीहरुले कपिलवस्तु नगरपालिकाको बसपार्क र छोट्की तौलिहवास्थित इदगाहमा पुगेर नमाज पढेका थिए । सानादेखि ठूलो सबै बिहानै स्नान गरी सफासुध्घर भई नयाँ कपडा लगाएर मस्जिद पुगेका थिए ।
सबैले धार्मिक विधिपूर्वक नमाज पढे । सबैले अंगालोमा बाँधिएर गला मिलाउँदै खुसीयाली साटासाट गरेका थिए । गरिव विपन्नलाई दान गरे । छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरुपनि पुगेर धार्मिक विधिपूर्वक सामूहिक नमाज पढेका थिए । शुभकामना आदानप्रदान गर्न भन्दै स्थानीय निर्वाचनका लागि राजनीतिक दलका प्रत्याशी इद गाह र मस्जिदमा पुगेर मत मागिरहेका थिए । कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूला मुस्लिम बहुल क्षेत्र हो ।
Related