नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मजदुर सहितको संघर्ष र बलीदानीबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन्।अन्तर्राष्ट्रिय श्रमिक दिवसमा आज शुभकामना दिँदै उनले श्रमजीवि समुदायले अधिकारका लागि संघर्ष गरेको बताए।‘नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन्,’ उनले भनेका छन्, ‘जनयुद्ध र विभिन्न मुक्तिकामी आन्दोलनमा ग्रामीण क्षेत्रका किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो।’उनले श्रमजीवि जनसमुदायको हक, अधिकारको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि स्थानीय तह निर्वाचनको संघारमा रहेको पनि बताए।
‘आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदूर एवम् श्रमजीवि उत्पीडित जनसमुदायको आजको मुख्य कार्यभार हो,’ उनले भने।आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन उनले श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई आग्रह पनि गरेका छन्।‘संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सकोस् भन्दै पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ प्रचण्डले भनेका छन्।
Related