वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा राख्ने भएको छ । कार्यालयको सुरक्षाका लागि १० प्रतिशत जनशक्ति प्रहरी युनिटहरूमा बस्ने एसएसपी केसीले जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा ३ तहको सुरक्षा घेरा बनाउने निर्णय गरिएको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिनेछ । कुन सुरक्षा संगठनलाई कसरी परिचालन गरिने भन्नेबारे केन्द्रिय सुरक्षा समितिले मापदण्ड तयार गरेर राष्ट्रिय अनुसन्धान विभागसहित चारवटै सुरक्षा निकायलाई सर्कुलर गरेको छ । सुरक्षा संवेदनशीलताको दृष्टिले सामान्य जिल्लाहरुको सम्पूर्ण मतदानस्थलको क्लोज सेक्युरिटी बाहेकका बाहिरी सुरक्षाको व्यवस्था नेपाली सेनाले गर्नेछ । नेपाली सेनाको रिजर्भ फौज प्रत्येक जिल्लामा जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम परिचालन हुनेछ ।