चितवन । चितवनमा उत्पादित काँक्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लामा उत्पादित काँक्रो पाँच रुपैयाँ प्रतिकिलोका दरले समेत बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका हुन् । भरतपुर महानगरपालिका १८ चनौलीमा १५ कट्ठा जग्गामा काँक्रो खेती गरेकी रेसुङ्खा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले आफूले पाँच रुपैयाँका दरले काँक्राे बिक्री गर्न खोज्दासमेत नबिकेकाले सित्तैमा दिएको बताउनुभयो । ‘पाँच रुपैयाँमा पनि बिक्री नभएपछि हिजो मैले ३५ सय किलो काँक्रो सित्तैमा दिएँ, अब फेरि टिप्ने बेला भयो, कहाँ बिक्री गर्ने टुङ्गो छैन’, अधिकारीले भन्नुभयो ।
बारीभरि लटरम्म काँक्रो फलेको तर चितवनका कुनै पनि तरकारी बजार र बिचौलियाले चितवनको काँक्रो नउठाएको उहाँको गुनासो छ । केही दिनको अन्तरमा ३५ क्विन्टलसम्म काँक्रो टिप्ने गरेको तर बिक्री नभएकाले बारीमै सडाउनुको विकल्प नभएको सञ्चालक अधिकारीले बताउनुभयो । भारतबाट सस्तोमा आएको काँक्रो व्यापारीले लुकाएर भण्डारण गरेको, चितवनमा उत्पादन धेरै भएको लगायतका कारण बिक्री नभएको हुन सक्ने उहाँको भनाइ छ ।
Related