नेपालमा अर्थतन्त्रका सूचकहरू झनै नकारात्मक बनेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको, गत साउनदेखि फागुनसम्मको विवरणअनुसार मूल्य वृद्धि सात दशमलव १४ प्रतिशत पुगेको छ। सबैभन्दा धेरै घिउ र तेलको मूल्य २६ दशमलव ३४ प्रतिशत, तरकारीको मूल्य १४ प्रतिशत, दूध र अण्डाको मूल्य ११ दशमलव तीन प्रतिशत तथा दाल र गेडागुडीको मूल्य १० दशमलव तीन प्रतिशतले बढेको छ। राष्ट्र बैंकले यो वर्ष मूल्य वृद्धिलाई ६ प्रतिशतको सीमामा राख्ने लक्ष्य राखेको थियो। अरू प्रायः सबै सूचकहरू पनि नकारात्मक बनेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गएको साउनदेखि फागुनसम्ममा वैदेशिक व्यापारमा ११ खर्ब ६१ अर्ब रुपैयाँ घाटा भएको छ। यो गएको वर्ष यही अवधिको तुलनामा ३४ दशमलव पाँच प्रतिशतले धेरै हो। यस्तै साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको वस्तु निर्यात गरेकोमा १३ खर्ब नौ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ।
आर्थिक वर्षको पहिलो आठ महिनामा गएको वर्षको तुलनामा एक दशमलव सात प्रतिशत भन्दा थोरै अर्थात् ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। फागुनसम्ममा विदेशी मुद्राको सञ्चिति नौ अर्ब ५८ करोड डलरमा सीमित भएको छ। यो सञ्चितिले ६ महिनाभन्दा केही बढी समयको वस्तु र सेवाको आयात धान्ने छ। कुल गार्हस्थ्य उत्पादनको तुलनामा चालु खाताको घाटा आठ प्रतिशत नाघे जोखिमपूर्ण मानिनेमा नेपालमा यस्तो घाटा ११ प्रतिशत पुगेको छ।
Related