नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका नेता टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा पाँच दलीय गठबन्धनले एमालेविरुद्धको मोर्चाबन्दीलाई सशक्त तुल्याएको छ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि निकै भारी पर्ने देखिएको छ । युवामाझ लोकप्रिय रहेका रामबहादुर चौहानले अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी स्थानीय तहको निर्वाचनका साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत अर्घाखाँचीमा एमाले नराम्ररी पराजित हुने दाबी गर्दछन् ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीका केही पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । अहिले राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन बनेपछि यो जिल्लामा एमालेसामु चुनौती बढेको छ । स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर हुने हो भने एमालेलाई अर्घाखाँचीको कुनै पनि पालिकामा जित निकाल्न सहज हुने देखिँदैन । गत निर्वाचनमा शितगंगा नगरपालिकामा माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन भएको थियो । जसअनुसार नगरप्रमुखमा काँग्रेसका उम्मेदवार ८ हजार ६७७ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ हजार ९९० मत ल्याएका थिए । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले हासिल गरेको उक्त मत जोगाउन सक्ने हो भने अहिले पनि सत्तारुढ गठबन्धनलाई जित हासिल गर्न कठिन छैन ।
Related