अर्घाखाँचीको विगतलाई फर्केर हेर्दा
जिल्लाबाट ६४ सालदेखि दुई वटा संविधानसभा निर्वाचन र एक पटक प्रतिनिधिसभा निर्वाचनमा लगातार रायमाझीले जित हासिल गर्दै आएका छन् । प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेशसभातर्फ भने दुवै सिट एमालेले जितेको थियो ।
यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले ४ र माओवादी केन्द्रले एक र एमालेले एक तहमा जित हासिल गरेका थिए । सर्वोच्चको आदेशबाट तत्कालीन नेकपा खारेज भएसँगै माओवादी केन्द्रबाट निर्वाचित मेयर पनि रायमाझीसँगै एमालेमा रहे ।
२०७४ सालको निर्वाचन : स्थानीय तहमा कसको मत कति ?
१. सितगंगा नगरपालिका– काँग्रेस ८,६७७, एमाले ६,९९०, जनमोर्चा १३७
२. सन्धिर्खक नगरपालिका– काँग्रेस ८,२३०, एमाले ७,१२७, जनमोर्चा ५७८
३. भूमिकास्थान नगरपालिका– माओवादी ५,३२०, जनमोर्चा ४,५४२, एमाले ४७०१
४. पाणिनी गाउँपालिका– काँग्रेस ५,९७७, एमाले ५,४८५, माओवादी ८१४
५. छत्रदेव गाउँपालिका– काँग्रेस ६,१६७, एमाले ५,०६५, माओवादी ९३२
६ मालारानी गाउँपालिका– एमाले ६,५०३, माओवादी ५,५०४, जनमोर्चा ५६०
एमालेको यस्तो छ तयारी
एमालेमा सचिवसमेत रहेका टोपबहादुरको जित वा हार भन्दा पनि एमालेले कस्तो रणनीति बनाउँछ भन्नेतिर अहिले धेरैको ध्यान केन्द्रित भएको छ । अर्घाखाँचीमा पछिल्ला दिन विभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेहरु बढ्दै गरेको एमालेको दाबी छ । एमाले विगतको भन्दा अझै बलियो संगठन भएको पार्टी भएकाले टोपबहादुरको जित सहज हुने एमाले अर्घाखाँचीका पूर्व अध्यक्ष एवं प्रदेशसभा सदस्य रामजी घिमिरेले रातोपाटीलाई बताए ।
उनले सत्तारुढ गठबन्धन चुनावसम्म जान नसक्ने दाबी गर्दै नेपाली काँग्रेस पद बाँडफाँटका बेला उदार हुन नसक्ने आँकलन गरे । उनले केन्द्रमा शेखर कोइराला पक्षधरहरुले गठबन्धनसँग मिलेर जान नसक्ने अडान राख्दै आएको भन्दै काँग्रेसलाई गठबन्धनमा बाँधिन सहज नहुने बताए । सत्तारुढ गठबन्धनको जिल्लास्तरमा भएको सहमतिबाट एमाले हतास नभएको बरु दैनिकजसो माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गरिरहेको अवस्थामा त्यसलाई रोक्न गठबन्धनबाट तर्फबाट यस्तो निर्णय गरिएको हुनसक्ने उनले बताए ।
उनले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन कायम रहेको अवस्थामा समेत अर्घाखाँची जिल्लामा एमाले नै विजयी हुने गरी पार्टी नेतृत्वले योजना र संगठन परिचालनमा जोड दिएको बताए । ‘हामीले ६ वटै स्थानीय तहमा जित्ने छौँ भने प्रदेश र संघीय त सधँै हाम्रै पकडको सिट हो’, उनले भने ।त्यसो त, टोपबहादुरविरुद्ध गठबन्धनका तर्फबाट तालमेलमै उम्मेदवारी घोषणा भएको अवस्थामा पनि को उम्मेदवार बन्ला भन्ने टुङ्गो छैन । साझा उम्मेदवारी दिने अवस्थामा गठबन्धनबाट कुन दलले उम्मेदवारी दिने हो र सो दलबाट कसले टिकट पाउने हो भन्ने प्रस्ट नभई चुनावको समग्र खाका अनुमान गर्न कठिन हुने जानकारहरु बताउँछन् । राताेपाटी साभार