आज होली हो। पहाडी क्षेत्रमा आज र तराई क्षेत्रमा भोलि धुमधामसँग होली खेलिन्छ । होली रङको पर्व हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ । तराईका जिल्लामा भने भोलि होली मनाइन्छ । आज काठमाण्डौको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा रहेको गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारेर गाडिएको चीरमा पूजाआजा गरेपछि फागु पर्व विधिवत् रुपमा सुरु भएको थियो । होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।
होलिमा कस्तो रङ प्रयोग गर्ने ?
होली रङको पर्व हो। तर रङको प्रयोग गर्दा होसियारीचाहिँ अपनाउनु पर्छ। सकेसम्म प्राकृतिक रङको प्रयोग गर्नुपर्छ। जस्तो, पहेँलो रङ लगाउन मन लाग्यो भने बेसारको प्रयोग गर्न सकिन्छ। रसायन नभएको रङ पनि किन्न पाइन्छ। ती रङ पाउडरका रूपमा हुन्छन्। जसको गन्ध छैन, यस्तो रङ चलाउनु राम्रो हुन्छ। हामीले प्रयोग नै गर्न नहुने रङहरू धेरै छन्। जसले शरीरलाई हानी गर्छन्। टल्किने खालको रङ, कालो रङ र झोलवाला रङले शरीरलाई धेरै नै असर गर्छ।
कालो रङमा लेड अक्साइड, रातो रङमा मर्करी मिसाएको हुन्छ भने हरियोमा कपरसल्फेट हुन्छ। टल्किने रङ सबैभन्दा हानिकारक हुन्छ। यस्ता रङमा माइका, सिलिकाजस्ता ‘केमिकल’ को प्रयोग धेरै गरिएको हुन्छ। केही गरी छालामा पहिले नै घाउ भएको छ भने रगतको माध्यमबाट भित्र छिरेर कलेजो लगायतका अंगलाई नै असर पार्न सक्छ। त्योबाहेक छालामा एलर्जीको समस्या हुन्छ। यसले प्रत्येक वर्ष बढी अनुपातमा लक्षण देखिन्छ। धेरै ‘केमिकल’ प्रयोग गरिएका रङको प्रयोग गर्नाले छालामा असर गर्नुका साथै केहीगरी शरीरभित्र पसे श्वासप्रश्वास, किड्नी, ब्रेन, न्युरोलोजीसम्बन्धी समस्यासमेत देखिन सक्छ।
यस्तै रङ जथाभाबी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्।नरिवलको तेल लगाएर रङ खेल्यो भने हानी हुनबाट बच्न सकिन्छ। शरीर र कपालमा तेल लगाउँदा तेलको लेयर बस्छ जसले गर्दा रङ र छालाको बीचमा असर पर्न दिँदैन। यस्तो गर्दा एलर्जी हुनबाट बचाउँछ। त्यस्तै मोस्चराइजर क्रिम लगाए पनि छालामा असर कम गर्छ। कपडाले शरीर पुरै ढाकेर होली खेलेको राम्रो हो। किनकी जति धेरैभित्र रङ जान्छ त्यति नै असर गर्ने सम्भावना धेरै हुन्छ। विशेषगरी बालबालिका र गर्भवतीको छाला ‘सेन्सेटिभ’ हुने भएकाले रङको प्रयोग गर्दा एकदमै ख्याल राख्नुपर्छ।
शरीरमा लागेको रङ पखाल्दा धेरै कडा साबुन लगाउनु हुँदैन। धेरै रगट्नु पनि हुँदैन। नुहाइसकेपछि मोस्चराइजर क्रिम लगाउनुपर्छ। कुनै समस्या देखियो भने चिकित्सककहाँ जानुपर्छ। केमिकल र मर्करी भएका रङमा क्यान्सर गराउने तत्व हुन्छ। धेरै केमिकल भएको रङ प्रयोग नगर्नु नै राम्रो हो। होलीको कारण थुप्रैलाई समस्या परेको हुन्छ। उनीहरूमध्ये धेरैलाई एलर्जी नै भएको छ। छाला सुन्निनेलगायत समस्या छन्। आँखा सुन्निने गाला सुन्निने पनि हुन्छ। रङको प्रतिक्रिया खेलेको दिनमा मात्रै नभएर २/४ दिनमा समेत देखिनसक्छ।
Related