खोजि गर्नुहोस..

कमजोरी समीक्षा कि समाजको ? पीडितले म पीडित हुँ भन्दा उल्टै चरित्रहत्या गर्ने यो कस्तो समाज हो ?

काठमाडौं । सानो उमेरमै सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरेकी गायिका समीक्षा अधिकारीको स्वर पहिचान गर्ने संगीतकर्मीको श्रेय वसन्त सापकोटालाई जान्छ । छायाकार पुरुषोत्तम प्रधानले आफ्नो क्यामेरामा पोखरामा रेकर्ड गरेको समीक्षाको स्वर सुनेर वसन्तले उनमा सम्भावना देखेका थिए ।
चलचित्र ‘नाईं नभन्नु–५’ का लागि ‘बालापनको उमेर’ गीत वसन्तले तयार पारे । स्वर पनि बालबालिकाकै भए राम्रो हुने भन्ने लागेपछि उनले पोखरामा रहेकी समीक्षालाई काठमाडौं बोलाएर गीत रेकर्ड गराए । त्यही गीत समीक्षाको सांगीतिक करिअरका लागि कोसेढुंगा बन्यो । त्यसैले समीक्षा वसन्त सापकोटा, पुरुषोत्तम प्रधान र निर्देशक तथा निर्माता विकास आचार्यलाई आफ्नो सांगीतिक जीवनको अभिन्न व्यक्ति मान्छिन् ।
पछि उनै समीक्षालाई स्रोता–दर्शकले रुचाए । उनलाई गीत गाउन भ्याइनभ्याइ हुन थाल्यो । भर्सटाइल हुनु उनी रुचाइनुको मुख्य कारण हो । आधुनिक होस् वा लोकलयको गीत समीक्षा मजाले गाउन सक्छिन् । हाई र लो दुवैमा भोकल रेञ्ज राम्रो भएकाले उनले धेरै गीत पाइन् । ‘बालापनको उमेर’यता समीक्षाले सयौँ गीत गाइसकेकी छन् । जसमध्ये केही लोकप्रिय पनि भए ।
सफलताको खुड्किलो चढिसके पनि समीक्षा अझै वयस्क भइसकेकी छैनन् । तर, नाबालिग उनै समीक्षा अहिले न्यायका लागि अदालतको ढोका ढक्ढक्याउन पुगेकी छन् । उनको उमेर अझै १८ वर्ष पुगेको छैन । तर, नाबालिग हुँदै उनी कानुनी झमेलामा फसेकी छन् । अभिभावकत्त्वको अभावका कारण उनी समस्यामा परेको संगीतकार वसन्त बताउँछन् ।
“बालबालिकाको अधिकार, कानुनी व्यवस्थाको जानकारीलगायत कुरा बालबालिकालाई थाहा हुँदैन । त्यसैले समीक्षाको यो घटनाले आगामी दिनमा धेरै कुरा सिकाउँछ,” वसन्त भन्छन्, “यो घटनामा पनि अभिभावकत्त्वको खाँचो देखियो । परिपक्व उमेर भइनसेका कारण त नाबालिग भनिएको हो । कुन समयमा कस्तो निर्णय लिने नाबालिगले नसक्ने भएकै कारण अभिभावकको खाँचो पर्छ भनिएको हो ।”
पोखराकी समीक्षा काठमाडौं बसेर गीत गाउँछिन् । गाउन थालेपछि उनले पूरै समय परिवारसँग बिताउन पाइनन् । नेपाली समाजमा आफ्ना बालबालिकालाई लिएर ठूलो कमजोरी भइरहेको उनी बताउँछन् । पछिल्लो घटनामा समीक्षा जोडिए पनि उनीजस्ता थुप्रैले अभिभावकत्त्व नपाइरहेको हुन सक्ने र त्यसतर्फ बेलैमा सचेत हुनुपर्नेमा उनको जोड छ ।
“समाजमा चिनिने केही काम गरे अथवा समाजले आफ्नो बच्चालाई चिन्ने गरी केही प्रतिभा प्रस्तुत् गरेपछि मेरो बच्चा अब बुझ्ने भइसक्यो भन्ने बुझाइ हामीमा छ,” वसन्त भन्छन्, “बच्चैमा केही काम गरेर पपुलर भएको आफ्नो बच्चाको भविष्य कस्तो हुन्छ भन्नेमा ध्यान दिएको पाइँदैन । जुन क्षेत्रमा आएको त्यो विषयमा केही सिकेर आउनुपर्छ । योगदानका लागि केही सिक्नुपर्छ भन्ने कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ, जुन काम भइरहेको छैन ।”
सही निर्णय लिन नसक्नु बालबालिकाको कमजोरी होइन, अपरिपक्व दिमागको उपज हो । अपरिपक्व उमेरको व्यक्तिलाई सही सल्लाह र सुझाव दिन नसक्नुचाहिँ कमजोरी भएको वसन्तको भनाइ छ । त्यसैले अहिले धेरै समीक्षाको पक्षमा उभिएका छन् ।
कुन बालबालिका कसरी आए भनेर उसको पृष्ठभूमि हेर्ने चलन नरहेको र यही नै मुख्य कमजोरी रहेको उनको ठहर छ । व्यक्ति चलेका बेला उसलाई उपयोग गर्ने प्रवृत्ति नेपाली समाजमा रहेको र यसले सम्बन्धित व्यक्ति र क्षेत्र दुवैलाई असर गरिरहेको उनको बुझाइ छ ।आफ्नो सन्तानको शैक्षिक योग्यता र क्षमता बढाउनेतर्फ अभिभावक लाग्नुपर्ने तर त्यसमा खासै ध्यान दिन नसक्दा उनीहरूको भविष्य संकटमा पर्ने गरेको वसन्त बताउँछन् । “कमाइरहेको छ, कमाओस् भन्ने हाम्रो सोच छ । सुझाव दिनेहरूले पनि पढेर के काम छ र भन्ने गरेको पाइन्छ । यो सोचाइ नै वास्तवमा घातक छ,” उनी भन्छन्, “सिकेर, बुझेर आऊँ भन्ने भन्दा पनि चलिरहेकै छ भन्ने गलत सोच छ । पढेर, बुझेर आएको व्यक्ति कति परिपक्व हुन्छ भन्नेतर्फ हामी अभिभावकहरूले पनि सोच्नुपर्छ ।”उचित सल्लाह र अभिभावकत्त्वको अभावमा कस्तो गीत गाउने भन्ने जानकारी पनि नहुने गरेको उनी सुनाउँछन् । “कस्तो खालको गीत गाउँदा ठिक हुन्छ, मेरो उमेर कुन हो, मायाप्रेमका गीत गाउने कि नगाउने, गाए कस्तोसम्म शब्द गाउने भनेर सोच्न पनि पढ्नु र सिक्नुपर्छ । सानै उमेर हो भने अभिभावकले सहयोग गर्नुपर्छ,” उनी भन्छन्, “कडा मिहिनेत र संघर्ष नगरी अपेक्षाभन्दा धेरै सफलता पाउँदा त्यसलाई सम्हाल्न जो कोहीलाई गाह्रो हुन्छ । र, उमेरका कारण त्यो स्वाभाविक पनि हो । त्यसैले परिवारले अभिभावकत्त्व ग्रहण गर्नुपर्छ । हाम्रो अहिलेको परिवेशमा यसको टड्कारो खाँचो देखिएको छ ।”
नाबालिगलाई सहयोग र संरक्षण गर्ने दायित्त्व परिवार र समाजको रहेको उनी बताउँछन् । नायिका प्रियंका कार्की नेपाली समाजमा ‘म पीडित हुँ’ भन्न नसकिने अवस्था रहेको बताउँछिन् । बालबालिकामा उचित निर्णय गर्न सक्ने क्षमता नभएकै कारण कानुनले नावालिग भनेर संरक्षणको आवश्यकता औंल्याएको उनी बताउँछन् । “दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ जहाँ पीडितले म पीडित हुँ भन्नमात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ,” उनी भन्छिन्, “यस्तोमा अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु ।”
नाबालिगहरुले निर्णय लिन सक्ने क्षमता नराख्ने भएकै कारण उनीहरुको  संरक्षण सभ्य समाजको उत्तरदायित्व भएको उनको बुझाइ छ । “मैले बुझे अनुसार नाबालिगको हकमा उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन विश्वका धेरै देशमा आफ्नो परिवेश अनुसार उमेर नपुगेकाहरुको निर्णय लिन सक्ने क्षमतालाई ध्यानमा राखेर नै बनाइएको हुन्छ,” प्रियंका सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन्, “नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् । त्यसैले तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्त्व पनि हो ।”
नाबालिगले आफू पीडित भएको बताउँदा उल्टै उनको चरित्रमाथि नै प्रश्न चिह्न उठाउनु जिम्मेदार समाजको परिचायक हुन नसक्ने उनी बताउँछिन् । को दोषी र को निर्दोष छुट्ट्याउने जिम्मा कानुनको भएको भन्दै अदालतलाई निष्पक्ष काम गर्न दिन सबैसँग उनको आग्रह छ ।
बाह्रखरी डट कम बाट साभार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *