कपिलवस्तु । महाराजगंज नगरपालिका वडा नं ८ मा रहेको कजरहवा स्वास्थ्य चौकीमा २४ घण्टे प्रसुती सेवा संचालनमा ल्याइएको छ ।
बिहीबार एक कार्यक्रमबीच नगर प्रमुख अब्दुल कलामले उद्घाटन गरी सेवा संचालनमा ल्याइएको हो । नगरका सबै वडामा जनताको स्वास्थ्य सेवालाई सहज तुल्याउन कजरहवामा पनि २४ घण्टे प्रसुती सेवा संचालनमा ल्याइएको प्रमुख कलामले बताए । प्रसुती सेवासँगै हप्ताको दुई दिन विशेषज्ञ चिकित्सकबाट ओपीडी सेवा पनि संचालनमा ल्याएको वडाध्यक्ष योगेन्द्र केसीले बताए ।
भवन निर्माण गरी स्थानीय महिलाहरुको समस्यालाई मध्यनजर गर्दै वडा तथा छिमेकी वडाका जनताको सेवाको लागि प्रसुती सेवा संचालनमा ल्याएकोसमेत अध्यक्ष केसीले बताए ।
कार्यक्रममा नगर उपप्रमुख सोभावती कुर्मी, जिल्ला समन्यव समितिका सदस्य तेजबहादुर रायमाझी, अर्का वडाध्यक्ष हुसेन खान, नगरपालिका स्वास्थ्य संयोजक राधेश्याम जैसवाललगायतले गुणस्तरीय सेवामार्फत जनतालाई सेवा दिन स्वास्थ्य चौकीलाई आग्रह गरे ।
कजरहवा स्वास्थ्य चौकी प्रमुख प्रेम सागर चौधरीले नागरिकको स्वास्थ्य उपचार र सेवाको लागि २४ सै घण्टा स्वास्थ्यकर्मी खटेर सेवा दिन तत्पर रहेको बताए ।
Related