काठमाडौं । नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ । निगमले एक महिनाको अवधिमा दोस्रो पटक थप रकम मागेको हो । अपुग ४ अर्ब रुपैयाँ माग गरेर मन्त्रालयलाई पत्राचार गरिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
आगामी २४ फागुनमा आईओसीलाई बुझाउनु पर्ने इन्धन खरिदको २५ अर्ब रुपैयाँका जोहो गर्न रकम अभाव भएपछि ४ अर्ब रुपैयाँ रकम जुटाइ दिन निगमले सरकारसँग माग गरेको उनले बताए । अहिले खरिद गरेर बिक्री गरेको इन्धनबाट प्राप्त रकमले भुक्तानी गर्न नपुगेको भट्टराईले बताए । ‘यो महिनाको भुक्तानी गर्न पैसा नपुगेपछि ४ अर्ब रुपैयाँ माग गरेर पत्राचार गरेका छौं,’ उनले भने । कुल १३ अर्ब रहेको यस्तो कोषबाट यसअघि नै एक अर्ब ८० करोड रुपैयाँ निगमले लगिसकेको छ । जनवरी महिनाको पहिलो किस्ता बुझाउन गत फेब्रुअरीमा उक्त रकम लिएको थियो ।
Related