काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको खुलासा गर्नु भएको छ ।
अध्यक्ष ओलीले हिजो (शुक्रबार) बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताउनु भएको हो । शनिबार काठमाण्डौमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन, नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल गरेपछि दाहाल–नेपाल गठबन्धन टुट्ने डरले अत्तालिएको दाबी समेत गर्नु भयो । तर प्रधानमन्त्री देउवाले भने एमसीसी पास गर्न इमान्दार हुन दाहाल–नेपाललाई सचेत गराएको ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्याउनु भयो । उहाँले गैर सांसदहरुलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरुले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने अडान पनि दोहोर्याउनुभयो ।
अध्यक्ष ओलीले जनप्रतिनिधिहरुलाई एमसीसीबारे आवश्यक निर्णय लिन आफूले प्रधानमन्त्री हुँदा त्याे प्रस्ताव संसदमा पेश गरेको पनि स्पष्ट पार्नु भयो । उहाँले सत्तारुढ गठबन्धनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग प्रस्ताव संसदमा निर्णयार्थ प्रस्तुत नहुने दाबी समेत गर्नु भयो । प्रस्ताव संसदमा निर्णयार्थ पेस गर्न नभइ न्यायालयलाई झनै अस्तव्यस्त पार्न ल्याइएको अध्यक्ष ओलीले तर्क गर्नुभयो ।