काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष पाण्डेले नेपालले एमसिसी अस्वीकार गर्दा आर्थिक संकट आइपर्न सक्ने बताएका हुन् । एमसिसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रूपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए। अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरूले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उपाध्यक्ष पाण्डेले बताए।
नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरूसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उनले ती मुलुकसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सकिने तर्क गरे। उनले भने, ‘अहिले प्रसंगवश आइरहेको एमसिसीसँग कतै अन्तर्राष्ट्रिय सम्बन्धसँग रिलेटिभ भएर नयाँ क्राइसिसतर्फ देश जाने होइन? यसतर्फको अध्ययन अलिकति तपाईंहरूले यसका प्रभावको बारेमा अध्ययन गर्नुपर्ने खाँचो देखिरहेको छु। समयमा नै हामीले परसम्म नेतृत्व क्षमता देखाउन सक्यौँ भने देशलाई लिएर जान सक्छौं अन्यथा देश संकटतर्फ जानसक्छ भन्ने देखिन्छ।’
उनले थपे, ‘यो भनेको के भने जस्तो अहिले मैले हेर्दा विश्व बैंक, दक्षिण एसियाली बैंकले निश्चित सहयोग दिने गर्दछ। त्यो अहिले विगतमा भन्दा बढाइरहेको छ। आइएमएफले पनि केही दिन अगाडि ४० करोड डलर हामीलाई कर्जा दिएको छ। भर्खरै हामीले ४८ अर्ब हामीले प्राप्त गरेका छौं। यसले हामीलाई फरेन्ट करेन्सीमा आइपर्ने जो चाप छ, त्यसलाई केही न केही ब्यालेन्स गर्ने मद्दत गरिरहेको छ। तर, यदि यो सम्बन्ध ५५ अर्ब नलिने कुरासँग केही छैन। नलिए पनि केही भएको छैन। तिमीले लिएनौं मैले दिन्नँ मैले अन्त पनि बाँडिदिन्छु भनेर सहज रूपमा उसले लिएर गयो भने नो प्रश्न। त्यसले ठूलो नोक्सानी कहीँ हुँदैन। तर यहाँ नेपालजस्तो मुलुकले मेरो पैसा नलिने भनेर दागाधरो भने बुझ्नुस् हामी जोखिम र संकटतर्फ प्रवेश गर्यौं,’ उनले भने। उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा गम्भीर हुनुपर्ने बताए।