काठमाडौं । नेकपा माओवादीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ बहस कार्यक्रममा बोल्दै शर्माले प्रचण्डलाई लक्षित गर्दै भने– “शेषनागले पृथ्वी बोकेको भन्ने कुरा दन्त्यकथा हो। शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने मान्यता पनि अब विज्ञानले खारेज गरिसकेको छ। पृथ्वी कसैले छोड्दैमा ढल्दैन।”
उनको यो भनाइ प्रचण्डको पछिल्लो अभिव्यक्तिको जवाफ हो। प्रचण्डले हालै एक कार्यक्रममा आफू सरकारमा नभए पनि देशको राजनीतिको खाँबो आफैंले थेगेको दाबी गर्दै भनेका थिए– “यदि मैले काँध छोडे भने देश भत्किहाल्छ जस्तो लाग्छ।”
शर्माले संविधानले केही उपलब्धि दिलाए पनि जनताले त्यसको प्रत्यक्ष लाभ लिन नसकेको टिप्पणी गरे। उनले संविधानका प्रावधानहरू व्यवहारमा लागू गर्न राजनीतिक नेतृत्व चुकेको बताए।
अन्तरिम कालदेखि निरन्तर संसद्मा रहेका उनले पछिल्लो समय संसद् “कानुन चोरी हुने ठाउँमा परिणत भएको” भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
पछिल्ला दिनमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच सार्वजनिक कार्यक्रममा बारम्बार सवाल–जवाफ भइरहेका छन्, जसले माओवादीभित्र आन्तरिक तनाव चुलिँदै गएको संकेत गरेको छ।
भिडियो ।