खोजि गर्नुहोस..

‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ, टिटी लेक वरपर खोजिरहेका छौं’

१५ जेठ, काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको हो ।

ठाकुरले  भने, ‘पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको छ, त्यसैले हामीले त्यतैतिर खोजी केन्द्रित गरिरहेका छौं ।’

मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको ठाकुरले जानकारी दिए ।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेपाल प्रहरी र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई जहाज खोज्न आवश्यक पर्ने सहयोग गरिरहेको बताए । तर उनले मोबाइलको लोकेसनबारे भने बताएनन् ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको ट्वीनअटर जहाज आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *