खोजि गर्नुहोस..

नुनदेखि सुनसम्म भेटिने पर्यटकीय गन्तव्य क्षेत्रको धार्मिक यात्रा

नेपाल पर्यटकीय सम्पदा र सम्भाव्यताको खानी भएको मुलुक हो । सात प्रदेशहरु मध्ये मध्यभागमा अवस्थित गण्डकी प्रदेश प्रकृति र संस्कृतिको संगम हो । त्यसैले होला पोखरा उपत्यकालाई नेपालको पर्यटनको राजधानी मात्र थालिएको छ । उपल्लो मुस्ताङको छुसाङ्गको नुनखानी र म्याग्दी बेनी भन्दा तल्लो भागको कालीगण्डकीको सुस्ता बगरसम्ममा छरपस्ट भेटिने सुनका कणहरु संकलन हुने कालीगण्डकी करिडोर–कोरला दामोदरकुण्डदेखि सुस्ता त्रिवेणी धामको ८१४ किलोमिटर वरपर प्रशस्त भेटिने मठमन्दिर र तीर्थस्थलहरु नेपालमा रहेका अन्य ६ सय नदी नालाहरुमा भेटिँदैनन् । यो नदी भारतको बिहार पटनामा गंगानदीसंग मिसिन्छ । धार्मिक दृष्टिकोणले यो नदी अत्यन्तै महत्वपूर्ण छ । दामोदरकुण्ड र मुक्तिनाथ यसको उदगमस्थल, शालिग्राम र नेपालका प्रसिद्ध धामहरु गलेश्वर, मोदीबेनी, निरहे, बाग्लुङ्ग भगवति कालिका, सेदीवेणी, रुरुक्षेत्र, रानीघाट–रामघाट, देवघाट र त्रिवेणी क्षेत्र यहि नदी किनारामा पर्दछन । यस नदीको गरिमा र महत्व नेपालका अरु नदीहरुसंग तुलना गर्न सकिँदैन । दुई मित्र राष्ट्रहरु भारत र चीन (सुस्ता त्रिवेणी देखि लो–मानथाङ्ग÷छोसेर कोरोला नाका जोड्ने मोटर बाटो स्याङ्जा पाल्पाको केही क्षेत्र बाहेक सञ्चालनमा आएको छ । यस नदीबाट सिंचाई, जलविद्युत, ढुङ्गा, गिटी, बालुवा झिक्ने काम, जलयात्रा, मृत्युपर्यन्त विर्सजन गर्ने मसानघाट, दाउरा र शालिग्राम संकलन, खानेपानी, मत्स्यपालन गर्ने यस नदीको छेउछाउ र हिन्टरल्यान्डका बासिन्दाहरुलाई रोजगार र जीविकोपार्जन हो । यसको बहुआयामिक महत्व हुँदाहुदै पनि आज धार्मिक पर्यटकीय दृष्टिकोणबाट सूत्रमा वर्णन गर्ने प्रयास गरौं ।


संघीयताले विभाजनमा ल्याएको नवलपरासी जिल्ला सुस्ता–पूर्व (नवलपुर)गण्डकी प्रदेशको धुर्को उत्तर दक्षिण (चीन–भारत) जोड्ने प्रसिद्ध तीर्थस्थल त्रिवेणीधामवाट सुरु गरौं । यो त्रिवेणीधाम गण्डक बाँध बनाउन शुरु गर्नु अघि नेपाल र भारतका सिमा वरिपरिका व्यक्तिहरुको शमसानघाट (दाहसंस्कार गर्ने) र पाप मोचन (पखाल्ने) र तार्ने (स्वर्ग जान) प्रयोगमा आउँथ्यो र हालमा पनि यो क्रम(आस्था) जारी छ । उक्त स्थानमा जानकी केन्द्र, शिव मन्दिर, वाल्मिकी आश्रम, गजेन्द्रमोक्ष धाम र हालमा पानी माथि शिव मूर्ति, अझ उत्तरपट्टि बृद्धाश्रम र विविध मठमन्दिरहरु स्वामी कमलनयन लगायत द्वारा बनेका छन् । मरेपछि स्वर्ग पुग्ने ढोका र पाप पखाल्ने र मृत्यु पछि दाहसंस्कार गर्ने नेपाल र भारत बिहारका नागरिकहरुको साझा थलोको रुपमा परिचित छ । कालीगण्डकीका ४ धामहरुमा नेपाल, भारत, इन्डोनेशिया–बाली लगायतका हिन्दुहरुको तीर्थयात्रा हुने गर्दछ । भारत सरकारले निर्माण गरेको गण्डक बाँध र पश्चिमपट्टि सानो कुलो नेपाललाई सिंचाईको लागि बनाइएको छ । नेपाल तर्फको बाँधको पारिपट्टि भारतको बिहारको केही २।३ किलोमिटर उत्तरतर्फ चितवन जिल्ला पर्दछ । । उक्त त्रिवेणीधाम हेर्दा एउटा सानो समुन्द्रको झझल्को आउँछ । सुस्ता गाउँपालिकादेखि उत्तर महलवरी–दाउत्रे मदर बाबा, दाउन्ने देवी, कुमारवर्ति, सितामणि लगायत क्षेत्रमा भारत–युपी, विहार, मध्यप्रदेशका हिन्दु, मुसलमान लगायतले माघे सक्रान्ति, वैशाख १ गते, एकादशी विविध पर्वहरुमा पैदल यात्रा गरि मेला भर्ने प्रचलन छ । पर्यटन विकास र प्रवद्र्धनका दृष्टिकोणले भविष्यमा यो ठाउँमा बहुआयामिक क्रियाकलापहरु सञ्चालन गर्न सकिन्छ । स्टीमरबोट सञ्चालन, मत्स्यपालन, वृद्धाश्रम, बनपैदावार, कृषि उत्पादनका विविध गतिविधिहरु सञ्चालन गर्न सकिन्छ । हालै गण्डकी प्रदेश सरकारले केही बजेट विनियोजन गरी त्रिवेणी–कोरोला कालीगण्डकी करिडोर मोटरबाटो छिट्टै सञ्चालन गर्ने भएको छ ।

त्रिवेणीधामको उत्तरतर्फ नारायणी नदीमा मस्र्याङ्गदी, सेती र काली गण्डकी नदीहरु देवघाटमा मिसिएपछि नारायणघाटमा पर्यटकहरुको लागि नारायणी नदीमा स्टीमर सञ्चालनमा आएको छ । पवित्र देवघाटको महिमा रहेको गलेश्वर, हरिहर आश्रमहरु नेपालका हिन्दु धर्मावलम्बीहरुका विभिन्न थर, आ–आफ्नो वंशावली अनुसारका आश्रमहरु चितवन तर्फ र तनहुँ जिल्ला तर्फ धमाधम बनिरहेका छन र धेरै आश्रमहरुमा वेद विद्याश्रम र वृद्धाश्रमहरु सञ्चालनमा रहेका छन । यसको धेरै महत्व छ । ईन्डोनेसिया बालीका हिन्दु नागरिकहरु यी दुई धाम (त्रिवेणी धाम र देवघाटधामहरुमा) वर्षेनी सयांैका संख्यामा भ्रमण गर्ने गर्दछन् । मोक्ष प्राप्ती र पाप प्रायश्चितका लागि यी धार्मिक स्थलहरु अत्यन्त आकर्षक र भ्रमण गर्न लायकका छन । यी धामहरुभन्दा अझ उत्तर पश्चिम तर्फ टापुको रुपमा कालीगण्डकीको बहावमा तनहुँ र पाल्पा÷नवलपुर जिल्ला बीचको अति सुन्दर, मनमोहक घुमाउने ठाउँ छ, जहाँ खाना वा खाजाको लागि रोकिन सकिन्छ । स्याङ्गजा र पाल्पा सिमानाबीच राम्दीपुल (रामघाट) अर्को पवित्रस्थल र अझ उत्तर–पश्चिम पाल्पा तानसेन नजिकै रानीमहल खड्गशमशेर राणाद्धारा निर्मित भव्य दरबार छ । यो ठाउँ कालीगण्डकी वरपर कुनै पनि मोटरबाटो नबनाउँदासम्म पैदल यात्रा गर्ने बटुवाहरुले काठको परम्परागत डुङ्गा मार्फत नदी पार गर्ने चलन थियो । यो कलमकारले पनि २०२६ सालमा बुटवलबाट नुन र मट्टितेल बोक्ने क्रममा पौष माघ महिनामा पार गरेको थियो । त्यस समयमा सिद्धार्थ राजमार्ग बन्दै थियो र तानसेन बुटवल (खस्यौली) सम्म ट्रिपरमा जिन्दगीको पहिलो मोटर यात्रा २०२६ माघ १ गते रु. ३ भाडामा सम्पन्न गरेको थियो । रानीमहल साँच्चै सुन्दर महल कालीगण्डकीको छेउको किनारमा अवस्थित छ । यो आज पुरातात्विक सम्पदा संरक्षणको रुपमा संरक्षित छ । यस अघि कालीगण्डकीको पानी मिर्मी कालीगण्डकी जलविद्युत परियोजनाका कारण सुख्खा छ । रिडी खोला र रुद्रमति खोलाको जलले रुरुधाम केही आशा लाग्दो छ ।

रानीघाट (रानीमहल) भन्दा झण्डै ५।७ किलोमिटर माथितिर अर्को प्रसिद्ध धार्मिक स्थल तथा नदी संगम –रिडीखोला र कालीगण्डकी तथा रुद्रमति नदीहरुको त्रिवेणी रुरुधाम अर्थात थोरका पनि भनिन्छ । यो ठाउँमा अर्घाखाँचीबाट आएको रिडीखोला, ढोरपाटन रुद्रमति तालबाट आएको रुद्रमति खोला र उत्तर पूर्वबाट कालिगण्डकी– ए हाईड्रोपावरबाट छाडिएको कालीगण्डकी नदीको संगम छ । यो रुरुधाममा पनि मृत्यु उप्रान्त लाश विर्सजन(घाट), बृद्धाश्रम र विभिन्न चाडपर्वहरु–माघेसक्रान्ति, ठूलो एकादशी, वैशाख १ गते लगायत समयमा तीर्थयात्रीहरु मेला भर्ने पापकर्मको प्रायश्चित गर्न पितृ श्राद्धहरु सम्पत्र गर्ने र भोलि आफु र दिवंगत पूर्वजहरुको सम्झना गर्ने स्थल हो । कालीगण्डकीमा विद्युत उत्पादनका कारण पानी अभावले सुख्खा देखिन्छ तर मनसुनको समयमा नदीमा पानी प्रशस्त भेटिन्छ । यस क्षेत्रको ८÷१० किलोमिटर अपस्ट्रिममा विशाल कालीगण्डकी–ए जलविद्युत १४१ मेगावाट क्षमताको ड्याम भेटिन्छ । यो ठाउँ कालीगण्डकी र आँधिखोलाको संगम हो । बाँध विशाल भएको कारण ठूलो तालझै नदी थुनिएर पर्वत, स्याङ्गजा र गुल्मीको त्रिसंगम सेतीवेणीसम्म ताल बन्न गएको र जल यातायातको स्वरुप आँधी मुहान (मिर्मी)बाट ३५।४० मिनेटको स्ट्रीमर यातायात सञ्चालन भएको छ । जहाँ भैरहवा सुनौली तीरबाट र स्याङ्गजा गल्याङ्गबाट आएका यात्रीहरु र सामानहरु ढुवानी यो साधन प्रयोग गरेर पर्वत र बाग्लुङ जिल्लाको दक्षिणी भाग (भेग) र गुल्मीको पूर्वी क्षेत्र पूर्तिघाट तर्फ लाग्दछन । यो जलयात्रा पनि नौलो अनुभव हुन्छ । यो त्रिजिल्लाहरुको संगम सेतीबेनीशिला पनि अर्को प्रसिद्ध र महत्वपूर्ण तीर्थस्थल हो । उत्तरपूर्वबाट पैञुँ खोली (सेती खोला) र कालीगण्डकीको संगम स्थलमा विशाल ढुंगाको शिला भेटिन्छ । वर्षायाममा प्रायः यो शिला अर्ध भाग पानीमा डुबेको हुन्छ र हिउँदमा पुरै देखिन्छ । यो ठाँउमा पनि वर्षभरि नै बिभित्र चाडपर्वहरुमा मेला लाग्ने भक्तालुहरुको नुहाई धुवाई, पुजाआजा गर्ने र प्रति दिन कम्तिमा १ । २ भन्दा बढि मानिसको शवदाह गर्ने गरिन्छ । यस ठाउँमा मठमन्दिरहरु मार्फत गौपालन र बटुकहरु संस्कृत पढ्ने पाठशाला पनि भेटिन्छ । यो सेतीबेनिबाट पश्चिमतर्फ गुल्मी र पूर्वपट्टि पर्बत जिल्लाबाट प्यारालल रुपमा म्याग्दीको बेनी बजारसम्म कालीगण्डकीको दुबै तर्फ मोटरबाटो करिडोर बनेको छ । ठाउँ ठाउँमा कालीगण्डकी माथि पर्वत–गुल्मी, पर्वत–बाग्लुङ जोड्ने लामालामा र अग्लो झोलुङ्गे पुलहरु बनेका छन । जसमध्ये नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल पर्वत पाँगा–बाग्लुङ भगवती कालिका मन्दिर प्रवेशव्दारसम्म निर्माण भएको छ । यो यात्रामा बाग्लुङ द्युल्लु पुच्छारमा बेलबगर तीर्थस्थल, ज्यामिरेघाट (जैमुनीधाम) तीर्थस्थल, बलेना–कुश्मा बीचको नेपालकै अग्लो झोलुङ्गे पुल त्यसमुनि मोदिबेनी तीर्थस्थल जुन मोदीखोला, मल्यांदी खोला र कालीगण्डकीको त्रिवेणी पर्दछ । उक्त तीर्थस्थलमा पनि मानव शव विसर्जन गराउने, वृद्धाश्रम र विभिन्न चाडपर्वहरुमा मेला लाग्ने र भक्तजनहरुको अपार तीर्थयात्रा सम्पत्र हुने गर्दछ ।

यो तीर्थस्थल भन्दा १०।१२ किलोमिटर उत्तरतर्फ नदीको उच्च बाग्लुङ्ग बजार छेउमा बाग्लुङ कालिका मन्दिर जिल्लाको ठूलो पवित्र तीर्थस्थल मात्रै नभएर नेपालकै विगत समय (माओवादी व्दन्द) पूर्व पशुपतिको शिवरात्री पर्व पछिको दोस्रो ठूलो मेला (१ हप्तासम्म) सम्पत्र हुने गर्दथ्यो । त्यस ठाउँ भन्दा झण्डै २।३ किलोमिटर बेनीतर्फ निरहे बगरमा माघेसक्रांन्तीमा तोरन तार्ने ठूलो मेला लाग्दछ । त्यो पनि रोचक छ । पर्बत पन्गको पार्वती धाम, साथै बाग्लुङ बजारको थोरै ४।५ किलोमिटर पश्चिम उत्तरतर्फ कुडुले भन्ने स्थानमा नेपालको मात्रै नभएर विश्वकै ठूलो शालिग्राम (भुमिगत–सुरुङ भित्र) आचार्य कमलनयनव्दारा निर्मित संग्रहालय छ । यहाँ अर्को अद्भूत शालिग्राम सङ्कलन कालीगण्डकी करीडोर नक्सा सहित दृश्यावलोकन गर्न सकिन्छ । त्यस ठाउँ भन्दा अझ माथि थप ४ किलोमिटरमा पाञ्चकोट निर्माण छ । जहाँ गरुडले बिष्णु भगवानलाई आफ्नो शरिर माथि विराजमान गराई उड्दै गरेको मूर्ति स्थापना गरिएको छ । त्यो भन्दा ५÷१० मिटर माथि विशाल तामाको घडा स्थापना गरिएको छ र त्यसभन्दा २०मिटर अझ माथि भगवान रामका मित्र हनुमानले लक्ष्मणको उपचारार्थ पहाड बोकेर ल्याएको मूर्ति स्थापना छ । यी सम्पदाहरु र ठाउँहरुको आ–आफ्नै मान्यता र मूल्य एवं महत्व छन् । त्यसबारे ती ठाउँहरु भ्रमण गरेर बुझ्न पर्ने आवश्यकता छ । बाग्लुङ बलेवा–कुश्मा वरिपरि नेपालका झोलुङ्गे पुलहरुको राजधानी झै कुश्मा–ज्ञांदी, कुश्मा–शिर्शुवा, कुश्मा–बलेवा, पाङ्ग–बाग्लुङ र कुश्मा–वलेवा यान्त्रिक पुल तथा विश्व प्रसिद्ध एशियाको दोस्रो लामो र अग्लो बञ्जिजम्प पुलहरु भेटिन्छन । यहि बञ्जिजम्प पुलको छेवैमा गुप्तेश्वर गुफा पनि भेटिन्छ जुन अर्को धार्मिक गन्तव्य हो । मालढुंगा नपुग्दै पाँगमूनि नयाँ पुलमा सहस्र धारा(१०८) भेटिन्छ । विगत समयमा नयाँपुल वरपर सुन चाल्ने काम पनि गरिन्थ्यो ।

यी रमणीय एंव धार्मिक स्थलहरु छाडेर म्याग्दीको सदरमुकाम तर्फ लाग्दा पुलस्त्याश्रम, रावण पार्क, लव्लीडाँडा, पर्वत मल्लाजको २४से राज्यको दरवार हुदै बेनी बजार पुगिन्छ । बेनी बजारको उत्तर पश्चिम ८ किलोमिटर माथि म्याग्दी खोलाको छेउमा नेपालकै सबै भन्दा ठूलो र धेरै मानिसहरु एकै समयमा तातो पानीमा डुब्न सकिने सिंगा भन्ने ठाउँमा ३ वटा कुण्ड (महिला–पुरुष–बच्चा) डुब्न ३ सय व्यक्ति एकै पटक मिल्दछ । यहाँका तातोपानी कुण्डहरुमा खासगरी शरिरमा घाउ खटिरा आएका, घुडाँ दुख्ने, बाथरोग भएका, हड्डी दुख्ने, मर्केका आदि व्यक्तिहरु देशभरिबाट नै आएर १।२ महिना सम्म डुबेर हाइड्रोथेरापी गर्ने प्रचलन छ । बेनीबाट २ किलोमिटर उत्तरतर्फ कालीगण्डकीको छेउमा ५ रोपनी क्षेत्रफल ओगटेको बिशाल ढुङ्गा (शिला) माथि गलेश्वर मन्दिर र नारायणको मन्दिर लगायत शिव लिङ्ग, चौरासी आश्रम, मन्दिर छेवैमा वृद्धाश्रम र वेद विद्याश्रमहरु रहेका छन । गलेश्वरधाम वरिपरि र नदी वारीपारी पर्वत र रघुगंगा पारि अरु मठ मन्दिरहरु विभिन्न गुठीहरुबाट सञ्चालित भेटिन्छन् । यहि धामका पिठाधिश मार्फत हाल देवघाटमा बनेको गलेश्वर आश्रम पनि संम्बन्धित हुन्छ । गलेश्वर धामबाट मुस्ताङ्ग तर्फ लाग्दा कालीगण्डकी नदि छेउ पारिपट्टी शिखरधारामा अर्को शिवालय मन्दिर र पवित्र आश्रम भेटिन्छ । त्यस ठाउँबाट अझ ३।४ किलोमिटरको दुरीमा मुस्ताङ्ग तातोपानी कुण्ड र पर्यटकहरु विश्राम गनेर्, भोजन, बास गर्ने तातोपानी बजार आउँदछ । यो नेपालको पर्यटक रमाउने अर्को आकर्षण केन्द्र हो । कालीगण्डकी दाना पारिपट्टी नारच्याङ्ग मगरगाउँ मुनी रमणीय झरनाहरु हेर्न पाईन्छ । म्याग्दी जिल्ला समाप्त भै मुस्ताङ्ग जिल्ला तर्फ लाग्ने वेलामा विश्वको सवैभन्दा अग्लो अर्को अन्धा गल्छी कालीगण्डकीमा भेटिन्छ । त्यसैको छेउ अर्थात् मुस्ताङ्ग तर्फ लाग्ने दाना गाउँमा अति सुन्दर रुप्से झरना गाडी रोकेर बाह्रैमास हेर्न र फोटो खिच्न सकिन्छ ।

यति रमणीय धार्मिक एवं प्रकृतिक स्थानहरुको अवलोकन भ्रमण तथा तीर्थयात्रा गर्दै अब मुस्ताङ्ग जिल्लाको प्रवेशव्दार घाँसा र अझ माथि लेते गाँउ पुगिन्छ । हाल कालीगण्डकी, बेनी, कोरोला नाका मोटरबाटोको पिचबाटो र वरिपरि हरिया धुपीका जंगल, धवलागिरी–निलगिरी विशाल हिमश्रृंखला बीचबाट कोवाङ, टुकुचे र मार्फा हुँदै जोमसोम यात्रा हुन्छ । मुस्ताङ जिल्लाको विशेषता अर्थात संसार छुट्टै छ । हिजो राज्य पुनःसंरचना पूर्व ६ वटा थकाली गाविसहरु र जोमसोम उक्तरतर्फ १० वटा भोटे गुरुङ, बिष्ट जातिहरुको बसोबास भेटिन्छ । जोमसोम पारीको ठिनी थकाली गाउँ त्यसभन्दा पूर्व–उत्तरतर्फ काईसाङ्ग क्याम्प (२०२९ सालमा खम्पा बिद्रोह) र त्यस भन्दा माथि विश्वको उच्च ठाउँमा अवस्थित तिलिचो ताल(४९१९ मि) भेटिन्छ । ठिनी गाउँ र निलगिरी हिमालको फेदीमा मुस्ताङ्गको धुम्वा सेकुभ ताल भेटिन्छ । जोमसोम बजारको पारिपट्टि नेपाली सेनाको ब्यारेक र रक क्लाइम्विङ्ग तालिम केन्द्र र पारिपट्टि पूर्वतर्फ पुरानो थाकखोला बजार र टुँडीखेल रहेको छ । यस पछिको यात्रालाई १० गाउँको भोटे विशेषता बोकेको बस्ती उपल्लो मुस्ताङ्गलाई एकलेभट्टी हुदै कागबेनी (कृष्ण र कालीगण्डकी नदीको पवित्र संगम) जहाँ बाह्रै महिना पित्तृश्राद्ध सम्पत्र गरिन्छ र चैते दशैं र आश्विनको बडादशैं अगाडि सोह्रश्राद्धमा ठूलो घुइँचो लाग्ने र श्राद्धहरु सम्पत्र गरिन्छ । यहि ठाउँको उत्तरपट्टी भारतको उत्तराखण्ड स्थित प्रसिद्ध तीर्थस्थल बद्रिनाथ, केदारनाथ भन्दा कम महत्व नभएको मुक्तिनाथको दर्शन गर्न पाईन्छ । सो कुरा भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको तीर्थयात्रावाट प्रमाणित हुन्छ । मन्दिरको वरिपरि रहेको अन्य मठ मन्दिर, बुद्ध मूर्ति एवं गुम्बा ,ज्वालामाई, यी ईत्यादिको वर्णन गर्नु भन्दा भ्रमण गरेर आफैले अवलोकन गर्दा प्रत्यक्ष साक्षात्कार भईन्छ । त्यही सल्लाह अगाडि राख्दछु । मुक्तिनाथ लगायत हलेसी, पाँचपोखरी नेपालका त्यस्ता धेरै धार्मिक आस्थाका मन्दिर एवं तीर्थस्थलहरु छन् जहाँ हिन्दु र बुद्ध धर्मका अनुयायीहरु एकै ठाउँमा पुजाआजा गर्दछन, भ्रमण दर्शन गर्दछन, र नेपाल र नेपालीहरुबीच एउटा परफेक्ट धार्मिक सहिष्णुता प्रकट (प्रदर्शन) हुन्छ ।

यो धार्मिक यात्राको संक्षिप्त वर्णनलाई सुनको पाटो (बगर) छोडेर अब नुन खानी रहेको छुसाङ्ग र झण्डै ३५०० वर्ष पुरनो ढुङ्गे युगको चैले गुफा तर्फ लागौ। छुसाङ्गबाट चैले गाउँलाई उपल्लो मुस्ताङ्गको अर्को प्रवेशव्दारको रुपमा हेर्न सकिन्छ अर्थात् मुस्ताङ्ग जिल्लाको प्रवेशव्दार घाँसा, कागवेनी र चैले भेटिन्छन् । त्यहाँका राता खैरा चट्टान र काँडेदार बुट्यान हुदै घिलिङ्ग, धमि, धाकमार हुदै चराङ्ग गाउँको यात्रा मोटर बाटोबाटै पुगिन्छ । सम्भवत यो गाउँमा एक दिनको थकाई बसाईपछि पूर्व–उत्तर तर्फ एक दिनभरिको कठिन यात्रामा घीगाँउ, यारागाँउ, लुरी गुम्बा हुदैं क्यूमु ला भञ्ज्याङ्ग भएर दामोदरकुण्ड तर्फ लागिन्छ । यात्रामा उकाली ओराली गर्दै ५हजार मिटर अग्लो नाङ्गो डाँडा खोल्सा हुदै नेपालको बद्रिनाथ, केदारनाथ भनेर चिनिने दामोदरकुण्ड जुन कालीगण्डकीको उद्गम स्रोत पुगिन्छ । यस ठाउँमा हालसम्म एउटा जस्ताको टहरो बाहेक अरु होटल लजहरु केही पनि भेटिँदैन । दामोदरकुण्ड विष्णुको चक्रको आकार र कुण्डमा छायाँ प्रतिविम्ब हुन्छ । यो कुण्डको वरिपरि उच्च हिमाली क्षेत्रमा भेटिने हिम चितुवा लगायत अन्य जनावरहरु र चराचुरुङ्गीहरुले पानी खाने ठाउँ हो । यो ठाउँको खुला आकाशमा एक रात बिताउन पाउँदा एक रात पृथ्वीमा आफ्ना पितृहरुसंग बास बसेको सरह हुनेछ । यो ठाउँको वर्णन पनि विष्णु शर्मा पराजुलीको “श्वेत पर्वत“ भन्ने पुस्तक पढ्न सके धेरै बुझिएला । यात्रालाई पुन चराङ तर्फ फर्किएर उपल्लो मुस्ताङ्गको राजधानी परखाल भित्रको गाबिस लो मान्थांग तर्फ लागांै र २ दिन यही रहने, उत्तर पूर्व तर्फको छोसेर गुफा, युरेनियम खानी, तातोपानी र गाउँदेखि २।३ किलोमिटर पूर्व उत्तर पहाडको फेदी कोरलाबाट बग्दै आएको अर्को कालीगण्डकीको उद्गम नदी छेउमा रहेको प्रसिद्ध शालिग्रामको खानीको भ्रमण पनि छुटाउन लायक छैन ।

अर्को दिन २।३ घण्टाको जीप यात्रामा मुस्ताङ्गको उत्तरी तिब्बत सिमा कोरोला नाका भ्रमण गरेमा आश्र्चय नहोला । अर्थात् यसरी कालीगण्डकीको शिर (उद्गम) देखि भारतीय सिमा त्रिवेणीधाम वा गण्डकबाँधसम्मको यात्रा सम्पन्न हुन्छ । यात्रालाई हालसम्म थोरै मोटर बाटो ट्रयाक वाहेक चराङ्ग–दामोदरकुण्ड पैदल यात्रा बाहेक मोटर बाटोबाट सम्पन्न गर्न सकिन्न । तीन तहका सरकारहरुले यो धार्मिक तीर्थयात्राको लागि थोरै भौतिक पूर्वाधारहरु निर्माण गरिदिए कालीगण्डकी करिडोर वरपरका बासिन्दाहरु लाभान्वित हुने थिए र त्यहाँ रहेका धार्मिक एंव पुरातात्विक महत्वका सम्पदाहरु संरक्षण र सम्वद्र्धन हुने थिए । युनेस्कोलाई गुहारी राख्नु पर्ने थिएन । यो धार्मिक पर्यटकीय यात्राको एउटा गुरुयोजना तयार गरी तीर्थयात्रीहरु भारत र चीनबीच सञ्चालन हुने रणनैतिक योजनाको तयारी गर्न सके पर्यटनको क्षेत्रमा एउटा कोशेढुङ्गा हुनेछ । यहाँ सम्मको स्थान विशेष र धार्मिक गन्तव्यहरुको लागि मेरो अनुभवमा थप दुई कृतिहरु “धौलागिरी क्षेत्रका पर्यटकीय गन्तव्यहरु तथा गण्डकी सभ्यता सम्बन्धि” (स्मारिका–२०७७) र बिष्णु शर्मा पराजुली “श्वेत पर्वत” नामक पुस्तक हेर्न अनिवार्य हुन्छ । स्मारिका भित्र विशेष गरी नेपाल सरकारका पूर्व सचिव मुकुन्द शर्मा पौडेल, डा. रुद्र प्रसाद मिश्र, ई.खिमानन्द कँडेल, मोती बहादुर कुँवर, दिनेश नारायण श्रेष्ठ, प्रा.डा. रामप्रसाद उपाध्याय, दिनानाथ तथा केदारनाथ पौडेल, लगायतका लेख रचना हेर्न पढ्न उपयुक्त हुन्छ ।

अन्तमा, नुन र सुन साथै झण्डै स्र्वगमा रहेका आफ्ना पूर्वज पितृहरु भेटिने धार्मिक एंव अति कौतुहलै कौतुहलको कालीगण्डकी करिडोरको यात्रा अति रोमाञ्चक र ज्ञानबद्र्धक एवं मोक्ष प्राप्ति हुनेछ । यो पर्यटकीय गन्तव्यलाई उत्तर–दक्षिणका धार्मिक तीर्थयात्री पर्यटकहरुलाई लक्षित गराएर केही पूर्वधारहरु विकाश गर्नु आवश्यक छ । यी ठाउँहरुको थप खोज, अध्ययन अनुसन्धान र अन्वेषण गर्नु अति नै आवश्यक छ । यी संम्पदाहरुको संरक्षण सम्वद्र्धन र बजारीकरण (प्रचारप्रसार) गरि करिडोरका भित्रि (हिन्टरल्याण्डको गन्तव्यहरु) क्षेत्र जस्तै–ढोरपाटन, तिलिचो ताल, गल्कोट दरबार, पञ्चास,े विविध जनजातिहरुसंग रहेको रीतिरिवाज, संस्कृतिहरुलाई जोड्न संचार सञ्जालको आवश्यकता छ । तीन तहका सरकारहरु बीचमा आपसी समन्वय, सहकार्य र स्रोत साधनको बाँडफाँड, जीवन्त सम्बन्ध कायम गराउन सकियो भने नेपालको शहर केन्द्रित एंव विशेष गन्तव्यमा केन्द्रित ठाउँहरुबाट गाउँ ठाउँ र पुरातात्विक महत्व, जैविक विविधता र तीन तहको (हिमाल, पहाड र मैदान÷तराई) भूसंरचना हावापानी आदिबाट पर्यटकहरु लाभान्वित हुने थिए । पर्यटनको क्षेत्रमा नीति निर्माण गर्ने सरोकारवाला व्यक्ति एंव निकायहरु, लाभान्वित हुने व्यक्ति, समुदाय लगायतले ध्यान दिनुपर्ने तर्फ यो कलमकार ध्यानाकर्षण गराउन चाहन्छ । पर्यटकको प्रचुर सम्भावना छ भन्ने, बेरोजगारका कारण युवा बाहिरिनु पर्ने, गरिबी न्यूनिकरण तीव्र भएन भन्ने गुनासाहरुलाई सम्बोधन गर्ने हो भने यस्ता नेपालमा धेरै ठाउँ र गन्तव्यहरु छन जसको खोजीनीति हुन सकेको छैन । प्रभावकारी रुपमा योजना, कार्यक्रमहरु लागू भएका छैनन् । आफ्ना घर, गाँउ, बजारीकरण गराउन सकिरहेको छैन । सिमा जोडिएका आर्थिक क्षेत्रमा दुई उदाउँदा मित्र राष्ट्रहरु भारत र चीनसंग निर्यात बढाउने, बजारको बिस्तार गर्ने भन्दा ठीक उल्टो अवस्था छ । धेरै कुराहरु उद्यम, व्यवसाय, स्रोत साधनको प्रयोग गरि नेपालको सम्मृृद्धि एवं सुखी नेपाली बन्न सक्ने सम्भावना नेपाल भित्रै छ ।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?


Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 7

Warning: Undefined variable $html5 in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $aria_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

Warning: Undefined variable $html_req in /home/byteshal/lumbinitoday.com/wp-content/themes/mazzako-portal/comments.php on line 9

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *